काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रदेश निर्वाचनसम्म पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीका सबै प्रदेश सांसदलाई राजीनामा दिन वा पार्टी छोडेर जानसमेत चुनौती दिएका छन्।अध्यक्ष राउतले पार्टीको निर्णयविपरीत कुनै पनि सांसद सरकारमा सहभागी हुन नपाउने बताए। मुख्यमन्त्री वा मन्त्री पदको प्रस्ताव आए पनि जनमत पार्टी सरकारमा नजाने उनको भनाइ छ।
राउतले निर्वाचन आउन ६–७ महिना मात्रै बाँकी रहेको अवस्थामा सत्ता र मन्त्रालयको भागबन्डामा लाग्नुभन्दा जनताको बीचमा पुगेर अधिकारका लागि संघर्ष गर्नुपर्ने बताएका छन्। अहिले सरकार बनाउने नभई संगठन निर्माण गर्ने समय भएको उल्लेख गर्दै उनले सत्ता र पदको लोभमा लाग्नु आत्मघाती कदम हुने टिप्पणी गरेका छन्।उनले विगतका सत्ता र पदप्रतिको मोह त्यागेर जनताको अधिकारका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएका छन्। सरकारमा सहभागी भएर दुई–चार वटा मन्त्रालय लिने प्रयास गर्नु जनताको चाहना र अग्रगामी मोर्चाको मर्मविपरीत हुने उनको भनाइ छ।
मधेश केन्द्रित दलहरूलाई विभाजन र विलय गराएर कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै राउतले फेरि त्यही शक्तिहरूको राजनीतिक चलखेलमा फस्नु दुःखद हुने बताएका छन्।लुम्बिनी प्रदेशमा मधेश केन्द्रित दलहरूलाई छिन्नभिन्न पारिएको प्रसंग उल्लेख गर्दै उनले मधेशी दल र नेताहरूलाई बदनाम गर्ने तथा उनीहरूको राजनीतिक शक्ति कमजोर बनाउने षड्यन्त्रप्रति सचेत रहन आग्रह गरेका छन्।अग्रगामी मोर्चामा पनि यस विषयमा कडा निर्णय भएको स्मरण गराउँदै राउतले मोर्चा आफ्नो निर्णयमा कायम रहेको विश्वास व्यक्त गरेका छन्।
ADVERTISEMENT

