बेइजिङ । चीनमा श्वासप्रश्वाससम्बन्धी नयाँ भाइरसको आतंक फैलिएको छ । भाइरसका कारण ठूलो संख्यामा मानिसले ज्यान गुमाएको दाबीसहितका समाचारहरू आइरहेका छन् । पछिल्लो स्थिति देखेर सर्वसाधारणहरू सतर्क भएको बताइएको छ । भाइरस ह्यूमन मेटान्यूमोभाइरस एचएमभीपीभएको बताइएको छ । चिसो मौसममा उत्तर चिनियाँ प्रान्तमा विशेषगरी बालबालिकाहरू भाइरसको चपेटामा आएको बताइएको छ ।
चीनको वुहान प्रान्तमा नोबेल कोरोना भाइरसको महामारी सुरु भएको पाँच वर्ष बित्दै गर्दा नयाँ भाइरसको प्रकोप देखिएको हो । चिनियाँ अस्पतालमा मानिसहरू मास्क लगाएर हिँडिरहेको फोटो र भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । स्थानीय पत्रिकाहरूले पनि एचएमभीपीको प्रकोपलाई कोभिडको महामारीको शुरुआती अवस्था जस्तै बताएका छन् । स्वास्थ्य अधिकारीहरूले संक्रमणमाथि निगरानी गर्न र फैलिन नदिन आकस्मिक उपायहरू अपनाइरहेको पनि भनिएको छ ।
चीन सरकारले भने वर्षेनी हिउँदमा यस्ता बिरामी देखिने भन्दै स्थिति भयावह नभएको बताइरहेको छ । शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले श्वास प्रश्वाससँग सम्बन्धी सङ्क्रमण चिसो मौसममा उत्कर्षमा पुग्ने बताएकी थिइन् । रोग कम सङ्क्रामक रहेको र गएको वर्ष पनि यही स्तरमा फैलिएको उनको भनाई थियो ।

