काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गृहणी महिलालाई आवश्यक सिप प्रदान गर्न सके आन्तरिक रोजगारी सृजना गर्न सहायक सिद्ध हुने बताउनु भएको छ । बुधवार मन्त्रालयमा नेपाल हस्तकला महासंघ र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबीच श्रम सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले घरमा बसेर काम गर्न सक्ने गृहणी महिलालाई आवश्यक सिप प्रदानगरी अरुलाई पनि रोजगार प्रदान गर्न सक्ने सम्भावना रहेको बताउनु भयो ।
उनीहरुले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नु पर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो । उक्त अवसरमा मन्त्री भण्डारीले छिटै रोजगारका लागि राष्ट्रिय स्तरको पोर्टल श्रमसन्सार ल्याउन लागिएको जानकारी दिँदै यसले आन्तरिक रोजगारीका लागि सृजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल हस्तकला महासंघसँग गरिएको सम्झौताले लोप हुन लागेको पेशा तथा दक्ष व्यक्ति उत्पादन गर्नका लागि सहायक सिद्ध हुने जिकिर गर्दै यसले वैदेशिक रोजगारमा हुने निर्भरतालाई केही हदसम्म कम गर्न सहयोग सावित हुने बताउनु भयो । उहाँले दक्ष जनशक्ति निर्माण गर्न सके नेपालमा पनि अवसरको कमी नहुने औंल्याउनु भयो ।
ADVERTISEMENT

