काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका छन् । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलहरू समेत तयार भइसकेको र सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका हुन् ।
निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेकाले निर्वाचनमा आशङ्का नगर्न उनले आग्रह गरे । उनले मतदाता नामावली सङ्कलनलाई हेर्दा जनता पनि निर्वाचनमा होमिइसकेको र सुरक्षा योजना समेत तयार भइसकेको जिकिर गरे ।
प्रवक्ता खरेलले अहिलेको सरकार जेनजी आन्दोलनको जगमा बनेकाले प्रधानमन्त्रीले जनेजी युवाहरूलाई प्राथमिकतामा राखेको बताए । व्यस्तताका कारण प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा जेनजी युवाहरूसँग भेट्न नसकेको भन्दै उनले जेनजीलाई बेवास्ता नगरिने स्पष्ट पारे ।

