
नेपालगन्ज,मंसिर ।२२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित विदाई गरिएको छ । ६० वर्ष उमेर पुगेका नारायणी रुपाखेती, आशादेवी बैश्य, चन्द्रकला गुरुङ, निर्मला साहु, ज्योति श्रेष्ठ, मंगलीमाया श्रेष्ठ, गीता शाही, गीता अधिकारी, राधादेवी कुर्मी र मन्नीदेवी कोरीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, महिला स्वयंसेविका संघ नेपालगञ्जकी अध्यक्ष प्रेमा शाहीलगायतले सम्मान प्रदान गरेका थिए ।
मातृ–शिशु स्वास्थ्य, खोप अभियान, स्वास्थ्य परामर्श र आपतकालीन परिस्थितिमा उहाँले पु¥याइरहेको योगदानकै कदरस्वरूप सम्मान गरिएको कार्यक्रम संयोजकहरूले बताए। सम्मान कार्यक्रमका प्रमुख अतिथिमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, तथा स्वास्थ्य महाशाखाका रामबहादुर चन्द्र उपस्थित रहेका थिए। साथै अन्य स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा स्थानीयवासीको सक्रिय सहभागिताले कार्यक्रम अझै भव्य बनेको थियो।

कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख चन्द, स्वास्थ्य संस्था प्रमुखतर्फबाट शर्मिला सुवेदीलगायतले स्वयंसेविकाको योगदानको प्रशंसा गरेका थिए । त्यसक्रममा सम्मानित स्वयंसेविका नारायणी रुपाखेती र स्वास्थ्य स्वयंसेविका शुष्मा चौधरीले पनि आफ्नो अनुभव राखेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य स्वयंसेविका आइला बोहराले गरेकी थिइन् ।

