काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको अवस्थालाई छोटो समयमै सरकारले सामान्यीकरण गर्न सफल भएको उल्लेख गरे ।वर्तमान सरकार गठनको १०० दिनको उपलब्धिबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले जेनजी आन्दोलनमा ७६ जनाको निधन र प्रारिम्भक अनुमानअनुसार ८४ अर्बभन्दा बढीको भौतिक क्षति भएको अवस्थाबाट यहाँसम्म ल्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गरेको बताए । उनले आमजनमानसमा पनि डर र त्रास कम हुँदै गएको र समाज सकारात्मक दिशातर्फ उन्मुख भइरहेको स्पष्ट पारे ।
आगामी फागुन २१ गते निर्वाचन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणलगायत कार्यदेशसहित जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको पृष्ठभूमि उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको सुनश्चितता भइसकेकाले अब शङ्का नगर्न आग्रह गरे ।आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका बनाएर काम गरिरहेको छ । राजनीतिक दलहरू उत्साहजनक रूपमा निर्वाचनमा होमिइरहेको अवस्था छ । जनता पनि निर्वाचनप्रति उत्साहित छन्”, उनले भने,“निर्वाचनका लागि आठ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन भइसकेकाले निर्वाचन सुनिश्चित भएको छ ।”

