काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता २०८२’ स्वीकृत गर्दै राजनीतिक दल र उम्मेदवारहरूका लागि कडा नियमहरू सार्वजनिक गरेको छ ।नयाँ आचारसंहिता अनुसार अब उम्मेदवारहरूले चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल वा अन्य कुनै पनि प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचनलाई कम खर्चिलो र मर्यादित बनाउन आयोगले प्रचारप्रसारका शैलीमा व्यापक फेरबदल गरेको हो ।
आचारसंहिता अनुसार जुलुस, आमसभा वा घरदैलो कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ । उम्मेदवारको मनोनयन दर्ता गर्न जाँदा वा घरदैलो गर्दा प्रस्तावक र समर्थकसहित बढीमा २५ जना मात्र सहभागी हुन पाउनेछन् भने बाजागाजा र झाँकी प्रदर्शनमा पूर्ण रोक लगाइएको छ । यस्तै, प्रचारका क्रममा बालबालिकाको प्रयोग गर्न नपाइने र कसैको निजी घर वा सार्वजनिक स्थलमा दलको झण्डा वा चिन्ह राख्न र टाँस्न समेत प्रतिबन्ध लगाइएको छ ।
आयोगले डिजिटल प्रचारप्रसारमा पनि कडाइ गरेको छ । अनलाइन वेब पेज, टिभी स्क्रोलिङ, सपिङ मलका डिस्प्ले र कल सेन्टरमार्फत प्रचार गर्न पाइने छैन । यद्यपि, राजनीतिक दल वा उम्मेदवारले आफ्नो एउटा आधिकारिक वेबपेजमा भने सामग्री राख्न पाउनेछन् ।निर्वाचनका बेला विभिन्न क्लब, आमा समूह वा गैरसरकारी संस्थालाई नगद वा जिन्सी बाँड्न, चन्दा दिन वा आर्थिक सहायताको घोषणा गर्न पनि निषेध गरिएको छ । यी नियमहरू उल्लंघन गर्ने उम्मेदवार वा दललाई प्रचलित कानुन अनुसार कडा कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।
ADVERTISEMENT

