काठमाडौँ । नेपाल पर्यटन बोर्डले ट्राभल एन्ड टुरिजम् फेयर (टीटीएफ) चेन्नई २०२६ मा नेपाललाई दक्षिण एसियाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गरिएको छ । नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै दक्षिण एसियाकै आकर्षक गन्तव्यका रूपमा सशक्त उपस्थिति जनाएको हो ।मार्च २० देखि २२ सम्म चेन्नई ट्रेड सेन्टरमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले ‘बेस्ट डेकोरेशन अवार्ड’ समेत प्राप्त गरेको छ । नेपालको तर्फबाट बोर्डको नेतृत्वमा निजी क्षेत्रका १२ पर्यटन व्यवसायी कम्पनीको प्रमुख तथा प्रतिनिधिहरूले मेलामा सहभागिता जनाएका थिए ।
नेपाल पभेलियनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र विविध पर्यटन उत्पादनलाई जीवन्त रूपमा प्रस्तुत गर्दै भारतीय ट्राभल ट्रेड व्यवसायी, टुर अपरेटर र ट्राभल एजेन्टहरूसँग व्यावसायिक अन्तरक्रिया (बीटुबी) र नेटवर्किङको अवसर सिर्जना गर्यो ।मार्च २० मा सुरु भएको मेलामा १२ भन्दा बढी भारतीय राज्य र पाँच देशका २५० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहेको थियो । कार्यक्रम उद्घाटनपछि तमिलनाडु पर्यटन विकास नियोगका प्रमुख तथा आईएस जे.इनोसेन्ट दिव्या, महाराष्ट्र पर्यटन निर्देशनालयका निर्देशक डा.बीएन पाटिल र भारतको पर्यटन मन्त्रालयका क्षेत्रीय निर्देशक डी वैंकटेसालगायतले नेपाल पभेलियन अवलोकन गरेका थिए । जहाँ उनीहरुले नेपालको पर्यटन सम्भावना र द्विपक्षीय पर्यटन सहकार्य विस्तारका विषयमा जानकारी लिएका थिए ।
भारत नेपालका लागि सबैभन्दा ठुलो पर्यटन स्रोत बजारका रूपमा रहँदै आएको छ । विशेष गरी दक्षिण भारतीय राज्यहरू—तमिलनाडु, कर्नाटक, आन्ध्र प्रदेश र केरलाबाट आउने पर्यटकहरूको सङ्ख्या पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ । बढ्दो आय स्तर, सुदृढ हवाई सम्पर्क र नेपालप्रति रहेको धार्मिक तथा सांस्कृतिक निकटताले भारतीय पर्यटकका लागि नेपाल थप आकर्षक गन्तव्यको रूपमा स्थापित गरेको छ ।बोर्डका वरिष्ठ प्रबन्धन सन्तोष घिमिरे र वरिष्ठ अधिकृत रोशनी पौडलले नेपालको धार्मिक, सांस्कृतिक, साहसिक र आतिथ्य सत्कारबारे भारतीय पर्यटकहरूलाई नेपाल घुम्नका लागि आमन्त्रण गरेका थिए । टीटीएफ चेन्नईजस्ता कार्यक्रमहरू दक्षिण भारतीय बजारसँगको सम्बन्ध अझ गहिरो बनाउने दीर्घकालीन रणनीतिक पहलका रूपमा बोर्डले सक्रिय उपस्थिति जनाएको वरिष्ठ अधिकृत पौडेलले बताएकी छन् । उनले भनिन्, ‘मेलामा राखिएको नेपाल पभेलियनले सांस्कृतिक र प्राकृतिक विविधताको उत्कृष्ट प्रस्तुति गर्दै ‘बेस्ट डेकोरेशन अवार्ड’ प्राप्त गरेको हो । जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको ब्रान्डिङलाई थप मजबुत बनाएको छ ।’

