काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ)ले सोलुखुम्बुको साविक चौंरीखर्क गाउँ विकास समितिमा रहेको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन कर्मचारीसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।साविक चौंरीखर्क–८ स्थित कित्ता नम्बर ४१८ र ४१९ को कुल ९ हजार २०० वर्ग मिटरभन्दा बढी सरकारी जग्गा कर्मचारी र जग्गाधनीको मिलेमतोमा अवैध रूपमा व्यक्तिको नाममा नामसारी गरिएको अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादीहरूमा तेजनाथ पौडेल, कमला कार्की, मनमाया नेपाली र सुबोध नेपाली छन् । अख्तियारका अनुसार तत्कालीन कार्यालय प्रमुख भीम बहादुर सोम्बाहाम्फेको किर्ते हस्ताक्षर गरी, फिल्डबुकमा केरमेट गरी र बिना अधिकार सरकारी जग्गालाई निजी बनाइएको अनुसन्धानबाट पुष्टि भएको छ। उनीहरुविरुद्ध १९ लाख ९० हजार बराबरको बिगो मागदाबी गरिएको छ ।
ADVERTISEMENT

