आशिष कुमार गुप्ता
नेपाल–भारत सम्बन्धको सबैभन्दा अनौठो र सशक्त पक्ष “बेटी–रोटी”को सम्बन्ध हो। यसले दुई देशबीचको सम्बन्धलाई केवल राजनीतिक वा आर्थिक सीमामा सीमित नराखी सामाजिक र पारिवारिक स्तरमा गहिरोसँग जोडेको छ । सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने समुदायहरूबीच अन्तरविवाह सामान्य अभ्यासका रूपमा स्थापित छ। नेपाली र भारतीय परिवारहरूबीच वैवाहिक सम्बन्धले दुवै देशका नागरिकहरूलाई भावनात्मक रूपमा एकअर्कासँग जोडेको छ। यसले आपसी विश्वास, सहयोग र समझदारीलाई मजबुत बनाएको छ । चाडपर्व, भाषा र संस्कृतिमा देखिने समानताले पनि “बेटी–रोटी”को सम्बन्धलाई बलियो बनाएको छ । दशैं, तिहार, होली, छठ जस्ता पर्वहरू दुवै देशमा समान उत्साहका साथ मनाइन्छन् । मैथिली, भोजपुरी, अवधी जस्ता भाषाहरू सीमावर्ती क्षेत्रहरूमा साझा रूपमा प्रयोग गरिन्छन् ।
चुनौतीहरूः खुला सिमानाको जटिलता ः यद्यपि खुला सिमाना र सन्धिले धेरै सकारात्मक प्रभाव पारेका छन्, केही चुनौतीहरू पनि देखा परेका छन्। खुला सिमानाको दुरुपयोगका कारण अवैध गतिविधिहरू बढ्ने सम्भावना रहन्छ। तस्करी,मानव बेचबिखन,लागुऔषध ओसारपसार र आपराधिक गतिविधिहरू यसका प्रमुख उदाहरण हुन् । यी समस्याहरूलाई नियन्त्रण गर्न दुवै देशबीच प्रभावकारी सुरक्षा संयन्त्र आवश्यक छ । सीमा व्यवस्थापन,सूचना आदान–प्रदान र संयुक्त सुरक्षा प्रयासहरूलाई सुदृढ बनाउनु अत्यावश्यक छ । त्यसैगरी,समय–समयमा सन्धिका केही प्रावधानहरू पुनरावलोकन गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ । बदलिँदो राजनीतिक,आर्थिक र सामाजिक परिस्थितिअनुसार सन्धिलाई अद्यावधिक गर्नु आवश्यक देखिन्छ ।
राजनीतिक उतारचढाव र कूटनीतिक सम्बन्ध ः नेपाल–भारत सम्बन्धमा कहिलेकाहीँ राजनीतिक उतारचढाव पनि देखिन्छ । सीमा विवाद, व्यापार अवरोध, नाकाबन्दी जस्ता घटनाहरूले द्विपक्षीय सम्बन्धमा तनाव उत्पन्न गरेको इतिहास छ । यद्यपि,यस्ता समस्याहरू दीर्घकालीन रूपमा समाधानतर्फ उन्मुख हुने गरेका छन् । दुवै देशले आपसी सम्बन्धको महत्वलाई बुझ्दै संवाद र सहकार्यमार्फत समस्या समाधान गर्ने प्रयास गर्दै आएका छन्। ऐतिहासिक र सांस्कृतिक निकटताका कारण सम्बन्ध पूर्ण रूपमा विच्छेद हुने सम्भावना न्यून छ ।
भविष्यको दिशाः सहकार्य र सुधार ः नेपाल–भारत सम्बन्धलाई अझ प्रभावकारी बनाउन सन्धिको पुनरावलोकन र सुधार आवश्यक छ। खुला सिमानाको व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै सुरक्षित र व्यवस्थित बनाउनु आवश्यक छ । आर्थिक सहकार्यलाई विस्तार गर्दै व्यापार सन्तुलन कायम गर्न पहल गर्नुपर्छ। जलविद्युत्, पर्यटन, पूर्वाधार विकास जस्ता क्षेत्रमा संयुक्त लगानीले दुवै देशलाई लाभ पुयाउन सक्छ । शिक्षा,स्वास्थ्य र प्रविधि क्षेत्रमा सहकार्य बढाउँदै मानव संसाधन विकासमा ध्यान दिनु पनि महत्वपूर्ण छ। यसले दीर्घकालीन विकासका लागि आधार तयार गर्नेछ । समग्रमा, नेपाल–भारत सम्बन्ध केवल दुई राष्ट्रबीचको सम्बन्ध मात्र होइन,यो साझा इतिहास, संस्कृति, धर्म र मानव सम्बन्धको जीवित उदाहरण हो। सन् १९५० को शान्ति तथा मैत्री सन्धिले यी सम्बन्धहरूलाई संस्थागत स्वरूप दिँदै सहकार्यको नयाँ मार्ग खोलेको छ । खुला सिमाना, आर्थिक सहकार्य र “बेटी–रोटी”को सम्बन्धले दुवै देशका जनतालाई गहिरोसँग जोडेको छ । यद्यपि केही चुनौतीहरू भए पनि,यी सम्बन्धहरूको गहिराइ र व्यापकताले भविष्यमा पनि स्थिर र सुदृढ रहने सम्भावना देखिन्छ । नेपाल र भारतबीचको सम्बन्ध दक्षिण एशियामा सहकार्य, सहअस्तित्व र आपसी सम्मानको उदाहरणका रूपमा स्थापित छ। यसलाई समयअनुसार परिमार्जन र सुदृढ गर्दै अगाडि बढाउन सकेमा दुवै देशका जनताको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुग्नेछ ।
ADVERTISEMENT

