काठमाडौँ । नेपाल सरकार र गाभी द भ्याक्सिन एलाइन्स’बिच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबिच भएको बैठकमा आगामी चार वर्षको खोप सहयोग, सह–वित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल भएको हो बैठकमा गाभीले आगामी अवधिका लागि नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
प्रस्तावित सहयोगअन्तर्गत नेपालले भने १ करोड ७१ लाख अमेरिकी डलर सह–वित्तीय लगानी गर्नुपर्ने विषयमा पनि छलफल भएको छ। नेपाल र गाभीबिचको सहकार्य सन् २००१ देखि सुरु भएको हो। २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा समेत गहन छलफल भएको थियो।
ADVERTISEMENT

