काठमाडौँ — बाढी आएको पाँच दिन बित्दा पनि रसुवा भन्सारसँग सम्बन्धित व्यापारी, कर्मचारी र चालकहरू सयौंको संख्यामा सम्पर्कविहीन रहेका छन् । भोटेकोशी बाढीले सयौं कन्टेनर र अर्बौं रुपैयाँको मालवस्तु बगाएको अनुमान गरिएको छ । सयौं जना सम्पर्कमा आएका छैनन् भने कन्टेनर र मालवस्तुको क्षति यकिन गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरूले बताएका छन् । व्यवसायी र व्यावसायिक फर्मका कर्मचारी मात्रै सयौंको संख्यामा बेपत्ता भएका छन् । भन्सार कर्मचारी १५ जना अझै सम्पर्कमा छैनन् भने ३ सयभन्दा बढी चालक तथा कन्टेनर कर्मचारी बेपत्ता भएको अनुमान छ ।
उत्तरी नाकाका व्यापारीहरूको छाता संगठन नेपाल हिमालय सीमापार वाणिज्य संघले भन्सार यार्डमा रहेको कन्टेनरको संख्या र त्यसमा लोड गरिएका व्यापारिक मालवस्तुको परिणाम र मूल्य तत्काल यकिन गर्न नसक्ने जनाएको छ । २०८२ को बाढीले क्षतिग्रस्त भएको रसुवा भन्सार यार्ड अस्तव्यस्त रहेकाले छरपस्ट पार्किङ गरिएका कन्टेनरमा करोडौं मूल्यका मालवस्तु लोड गरिएको थियो भन्सार यार्डमा लोड गरिएका कन्टेनरहरू कति संख्यामा पार्किङ गरिएका थिए ? चीनतर्फ जान लागेका खाली कन्टेनरहरू कति थिए ? मी विवरण संकलन गरिरहेका छौं,’ हिमालय सीमापारका महासचिव रामचन्द्र पराजुलीले भने, व्यापारी, कर्मचारी र चालकहरू सबैजसो सम्पर्कमा नआएका कारण यकिन तथ्यांक आउन सकेको छैन ।’व्यापार, ट्रेकिङ र कन्टेनर कर्मचारी सिन्धुपाल्चोकका मात्र २ सय ३४ जनाको सूची सार्वजनिक भएको छ । तीमध्ये अधिकांश व्यापारी, व्यापारिक फर्मका कर्मचारी तथा चालकहरू रहेका छन् । तातोपानी नाका बन्द भएका कारण उनीहरू धेरै रसुवा भन्सार गएका थिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका मात्र ७३ जना बेपत्ता छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले व्यावसायिक क्षतिको विवरण संकलन गर्न उपसमिति गठन गरेको छ । संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार उपसमितिले क्षतिको अध्ययन र विवरण संकलन गर्नेछ । उनले सिन्धुपाल्चोकको मात्र बेपत्ताको संख्या २ सय ६६ पुगेको बताए । बेपत्तामध्ये अहिलेसम्म २ जनाको शव प्राप्त भएको छ । अन्यको अवस्था अज्ञात रहेको छ ।
बाढीबाट बच्न सफल रसुवा भन्सार प्रमुख राजेन्द्रप्रसाद ढुंगानाले यार्डमा सयभन्दा बढी सामान लोड गरिएका कन्टेनर रहेको अनुमान गरे । ‘ईभी गाडी र मालबाहक कन्टेनरहरूको संख्या सयौं पार्किङ गरिरहेको देखिन्थ्यो,’ ढुंगानाले भने, ‘चीनबाट आएर कम्प्युटरमा इन्ट्री भएका गाडीहरूको संख्या रेकर्ड रहने भएकाले केही दिनमा यकिन गर्न सकिन्छ ।भन्सारले बाढी आउनुभन्दा अघिल्लो दिनसम्म ९ दिनमा ९० करोड राजस्व संकलन गरिसकेको थियो । व्यवसायीले भने २ सयभन्दा बढी संख्यामा लोड कन्टेनर नै सीमा क्षेत्रमा रहेको दाबी गरेका छन् । व्यवसायी भन्छन्, ‘भन्सार र आसपासका क्षेत्र सबै बगाएकाले कन्टेनरहरू कि त पुरिए, कि बगे ।’
व्यवसायी तथा सीमापारका पूर्वमहासचिव नवराज तिमिल्सिनाले क्षतिको विवरण संकलन सुरु गरेको बताए । ‘विवरण संकलन सुरु गरेका छौं तर सामान्य हिसाबले यकिन तथ्यांक आउने सम्भावना छैन,’ उनले भने, ‘मुख्य कुरा व्यवसायी साथीहरू सयौं जना सम्पर्कमा आउनुभएको छैन । पहिलो प्राथमिकता उहाँहरूको खोजीका लागि सरकारसँग अनुरोध गरिरहेका छौं ।जो-जो भाग्न सफल भए, भागे; नसक्नेहरू त्यहीँ पुरिए वा बगे,’ भन्सार प्रमुख ढुंगाना भन्छन्, ‘कर्मचारी बस्ने घरको भग्नावशेषमा हेलिकोप्टरबाट सुरक्षाकर्मी गएर खोजतलास गरिएको छ। तर कसैलाई पनि फेला पारिएको छैन ।’
केरुङमा १ सय ७० कन्टेनर
रसुवा नाका भएर नेपाल भित्रिन तयार गरिएका १ सय ७० कन्टेनर केरुङमा अलपत्र परेका छन् । ती कन्टेनरहरू अब तातोपानी वा कोराला नाका लैजानुको विकल्प छैन । मुख्यतः फलफूलका कन्टेनर लामो समय अड्किए नोक्सान हुने भएकाले छिटो निर्णय गर्नुपर्ने अवस्था रहेको छ ।फलफूल आयातकर्ता तथा हिमालय सीमापारका सदस्य राजेश भण्डारीले केरुङमा रहेका कन्टेनरमध्ये ३० वटामा फलफूल रहेको बताए । भन्सार हाताबाट काठमाडौंतर्फ आएर रसुवामा अड्किएका कन्टेनरको फलफूल स्थानीयलाई वितरण गरिएको छ । ती कन्टेनरहरू तत्काल काठमाडौं आउन नसक्ने भएकाले फलफूल सडेर जाने निश्चित भएपछि स्थानीयलाई वितरण गरिएको भण्डारीले जानकारी दिए ।

