काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुर भ्रमणमा पुग्दा राजावादीहरूले शक्ति प्रदर्शनको तयारी गरेका छन् । उनको स्वागतका क्रममा राजावादीहरूले मोटरसाइकल र्यालीसहित शक्ति प्रदशर्नको तयारी गरेका हुन् । राप्रपाका केन्द्रीय सदस्य निरञ्जन थापाले हजारौँको सहभागितामा मोटरसाइकल र्याली निकाल्न लागिएको जानकारी दिए । मोटरसाइकल र्याली समन्वय समितिका संयोजक समेत रहेका उनले पूर्वराजाको भ्रमणलाई चुस्त बनाउन आवश्यक तयारी पनि पूरा भइसकेको जानकारी दिए ।
उनका अनुसार सोमबार दिउँसो र्याली साढे २ बजे कुपण्डोलस्थित हनुमानस्थान नजिकैबाट सुरु भएर हिमालयन होटेल, पाटन ढोका, चाकुपाट, इमुखेल चिलरेन्ड पार्क हुँदै नाग बहाल, धौगल, माहापाल चोकबाट मंगलबजार चोकमा पुग्नेछ ।यस्तै पूर्वराजाको मन्दिर दर्शन सम्पन्न भएपछि पुनः मंगलबजार चोकबाट माहापाल , गाबाहल , पुल्चोक , जावलाखेल वीरेन्द्र सालिक हुँदै पुनः पुल्चोक भएर कुपण्डोलसम्म मोटरसाइकल र्याली पुग्ने उनको भनाइ छ ।

