काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दुइटा पासपोर्टबारे कसैले आवाज नउठाएको बताएका छन् ।‘गृहमन्त्री रवि लामिछानेको दुइटा पासपोर्ट हुँदाखेरि र संसद्का महासचिवको दुइटा पासपोर्ट हुँदा तपाईँहरू केही लेखिरहनुभएको छैन,’ विराटनगरमा बिहीबार भएको नेपाल प्रेस युनियनको कार्यक्रममा कोइरालाले प्रश्न गरे, ‘देशमा कानुन छ । तर उहाँहरूलाई केही हुँदैन । त्यो कानुन के गृहमन्त्रीलाई र संसद् महासचिवलाई लाग्दैन ?’नेता कोइरालाले गृहमन्त्री लामिछानेमाथि सहकारीको बचत अपचलनको आरोप लागेको पनि बताए ।
गृहमन्त्री भएका नाताले सहकारी ठगीबाट उहाँलाई उन्मुक्ति दिने ? यो हुन सक्दैन । सहकारी ठगीमा उहाँ संलग्न हुनुहुन्छ र उहाँ उन्मुक्ति पाउन सक्नुहुन्न भन्ने कांग्रेसको ठहर छ । जसले बचाउन खोज्छ त्यो पार्टी वा व्यक्ति उजागर भएर जान्छ, यो गम्भीर विषय छ’, उनले भने ।गृहमन्त्री लामिछानेले आफू सहकारीमा संलग्न नरहेको बताइरहेको उल्लेख गर्दै उनले रविलाई गृह मन्त्रालय छाडेर अर्को मन्त्रालयमा जान प्रस्ताव गरे ।प्रहरीलाई अनुसन्धान गर्न दिनुस् । हामीले तपाईंको राजीनामा पनि मागेको छैन’, कोइरालाले भने ।

