काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताएका छन् ।सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वन जङ्गल संरक्षणमा महासङ्घको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।वनमन्त्री सुडीले आफू मन्त्रालयमा आइसकेपछि शिथिल अवस्थामा रहेको वन क्षेत्रलाई चलायमान बनाउन, उत्पादन बढाउन र बिक्री वितरणमा सहज बनाउन विभिन्न नीतिगत काम गरेको जानकारी दिए ।
कार्यक्रममा महासङ्घका अध्यक्ष ठाकुर भण्डारी महासङ्घले वन जङ्गल संरक्षण क्षेत्रमा गरेको योगदानबारे चर्चा गर्दै सामुदायिक वनमा देखिएका नीतिगत चुनौती समाधानमा सरकारले सहयोग गर्नुपर्ने माग गरे ।हाल देशभर २२ हजार सात सय ६० सामुदायिक वन हस्तान्तरण भएको बताउँदै उनले ३१ लाख ६८ हजार चार सय ४९ घरधुरीले २३ लाख १८ हजार आठ सय ११ हेक्टर वनको व्यवस्थापन गर्दै आएका जानकारी दिए ।

