काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल अजहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने विधि छ ।यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद, नेपालगन्जको इदगाहालगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थियो । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो । त्यसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस् यो भेडालाई बलिदान गर भनी आदेश दिनुभएको हो भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको ऐतिहासिक पृष्ठभूमि छ ।मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । त्यसैले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्त्वपूर्ण योगदान गर्दै मोहम्मद सलल्लाले हदिस नामक धर्मग्रन्थको रचना गरेको मौलाना रहमतले बताए ।
ADVERTISEMENT

