काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत लिने भएका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ३० दिनसम्ममा विश्वासको मत लिन पाउने व्यवस्था भए पनि प्रधानमन्त्रीले आइतबारकै संसद् बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्ने कार्यक्रम रहेको जानकारी दिए ।आफ्नै दलको समर्थनमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्थापित गरी ओली आइतबार संविधानको धारा ७६(२) बमोजिम चौथो पटक प्रधानमन्त्री भएका हुन् । संविधानको धारा ७६(२) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीको शपथ लिएकै दिन ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिइसकेका छन् । मन्त्रिपरिषद्मा कांग्रेस र एमालेका अतिरिक्त जसपा र लोसपा पनि सहभागी छन् ।
कांग्रेसका एक पदाधिकारीले जसपा नेपाललाई एक मन्त्रालय दिन चाहे पनि नमानेर सरकारमा नआएको बताए । जसपा नेपालका प्रवक्ता मनीष सुमनले सरकारमा नगए पनि प्रधानमन्त्री ओलीले राख्ने विश्वासको प्रस्तावमा भने साथ दिने बताए । स्थिर सरकार र संविधान संशोधनको एजेन्डा कांग्रेस र एमालेको समीकरणले राखेकाले आफूहरूले त्यसलाई साथ दिन चाहेको बताए । ‘संविधान जारी भएदेखि नै नागरिकता, भाषा, निर्वाचन क्षेत्रलगायत संविधान संशोधनका हाम्रा एजेन्डा थाती नै छन् । सरकारले संविधान संशोधनको एजेन्डा अघि सारेकाले हाम्रो पनि मुद्दा सम्बोधन हुनेमा आशावादी छौं,’ उनले भने, ‘निर्णय संसदीय दलले औपचारिक रूपमा गर्छ । तर सरकारलाई विश्वासको मत दिने पक्षमा हाम्रो पार्टी छ ।’
नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठले पनि सरकारलाई विश्वासको मत दिने बताइन् । ‘हामीले यसअघिका सबै सरकारलाई विश्वासको मत दिएका छौं, प्रधानमन्त्री ओलीलाई त झन् नदिने कुरै भएन,’ उनले भनिन् ।मधेश प्रदेशमा कांग्रेस र एमालेले जनमत पार्टीको नेतृत्व रहेकै सरकारलाई निरन्तरता दिने निर्णय लिइसकेका छन् । कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाइसकेका छन् । मधेश–प्रदेश सरकारलाई कांग्रेस र एमालेले समर्थन दिएकाले पनि उक्त पार्टीले संघीय सरकारमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।
ओली नेतृत्वको सरकारमा कांग्रेसको ८८, एमालेको ७८, जसपाको ७ र लोसपाको ४ सहित १७७ सांसद सरकारमै छन् । त्यसबाहेक जनमतको ६, जसपा नेपालको ५ र नागरिक उन्मुक्तिको ४ सहित प्रधानमन्त्री ओलीले दुई तिहाइ बढी अर्थात् १९२ सांसदको समर्थन पाउने देखिएको छ । यसमा स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि सरकारलाई साथ दिने बचन दिँदै आएका छन् । ०७४ को निर्वाचनपछि बनेको सरकारमा पनि ओली दुई तिहाइ समर्थनमा प्रधानमन्त्री भएका थिए । तत्कालीन नेकपाभित्रको आन्तरिक द्वन्द्वले प्रधानमन्त्री गुमाउन पुगेका ओलीले तीन वर्षपछि फेरि त्यही हैसियतको प्रधानमन्त्री हुने मौका पाएका छन् ।