नेपालगन्ज म्याराथनको १० औं संस्करणमा रात्रिकालीन दौड हुने भएको छ । प्रतियोगिताको प्रि–इभेन्टका रुपमा नेपाल मै पहिलो पटक १० किमी रात्रिदौड हुन लागेको आयोजकले जनाएको छ । आयोजक क्रियटिभ ह्यान्ड्सले रात्रिकालीन दौड असोज ३ गते संविधान दिवस राति हुने जनाएकोछ । राति ९ बजे बीपीचोकबाट सुरु हुने दौड एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस ९एम्स०बाट प्रमाणीकरण रुटमा हुने आयोजकको भनाइ छ ।
आयोजक क्रियटिभ ह्यान्ड्सले धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणमा रात्रिदौडसँगै अन्य विभिन्न १० इभेन्ट पनि हुने जानकारी दिएको छ । प्रतियोगिता मंसिर २२ गतेदेखि हुनेछ । प्रतियोगिताका लागि भदौ १ गतेदेखि नाम दर्ता भइरहेको छ ।
पहिलोपटक आयोजना हुनलागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ । पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने छ ।पुरुष र महिलातर्फका शीर्ष तीन जनाले क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिनेछ । भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।‘रात्रीकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले बिशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको छ’, आयोजकले प्रेस विज्ञप्तिमार्फत भनेको छ ।