काठमाडौँ — गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बुधबार नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरे ।
सो क्रममा गृहसचिव दुवाडीले त्यहाँस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे। गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गरेका थिए ।
त्यस अवसरमा गृहसचिव दुवाडीले विभिन्न समस्या, सीमितता र चुनौतीका बाबजुद नेपाल प्रहरीले शान्तिसुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानुन कार्यान्वयनमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले परम्परागत ‘पुलिसिङ’ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमसँगै व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

