चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा माओवादी पार्टीबाट अलग भएर गठन भएका विभिन्न पार्टीहरू एक ठाउँमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले २०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म माओवादी पार्टीहरू एकजुट गर्नका लागि आफूले पहलकदमी लिने बताएका छन् चितवनमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगतमा पार्टी विभाजन गरेर अलग भएकाहरूलाई एकजुट बनाउनुपर्ने बताएका हुन् ।
विप्लवजीको होस या अरु पनि माओवादी आन्दोलनबाट अलग भएका धाराहरू हामी एउटै स्कुलबाट, एउटै मूल प्रवाहबाट प्रवाहित भएका भंगालोहरू हौं । हामी सबै एकै ठाउँमा केन्द्रित हुनैपर्छ । इतिहासले, विज्ञानको निमयले पनि के भन्छ भने एउटै स्कुल र मूलप्रवाहबाट जन्मेका विभिन्न धारा र भंगालाहरू एउटा अर्को ठाउँमा पुगेपछि ती एकताबद्ध हुन्छन्,' दाहालले भने, 'तिनलाई एकताबद्ध गरिन्छ । अब समय आएको छ, हामीले २०८४ पुग्दासम्म हामीले यो आन्दोलनलाई एकताबद्ध गरेर मात्रै जनताका आशाअपेक्षा अनुसार समाजवादका समाजवादका भ्रुणहरू रोप्न सकिन्छ । समाजवादको उत्पादन आधारहरू तयार पार्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’
माओवादीलाई २०६४ सालको निर्वाचनमा जस्तै उपलब्धि हासिल गर्ने बनाउनका लागि आगामी निर्वाचन पहिले एकताबद्ध माओवादीहरू बन्नुपर्ने दाहालको भनाइ थियो । आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउनका लागि आफूले संकल्प लिएको र त्यो पूरा गर्नका लागि आफूले अठोट लिएको पनि उनको भनाइ थियो । समाजवादको उत्पादन आधार तयार पार्नका लागि पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको पनि उनको भनाइ थियो ।लचक भएर एकताका लागि आफू अगाडि बढ्ने दाहालको भनाइ थियो । 'तपाईंहरूको अगाडि व्यक्त यो प्रतिबद्धता ठूलो छाती लिएर एकतामा जाने पूरा हुनेछ भन्ने विश्वास पनि म तपाईंहरूको अगाडि व्यक्त गर्न चाहन्छु,' दाहालले भने ।विगतमा समाजवादको आधार निर्माणका लागि 'उत्पादन ब्रिगेड' बनाएर जाने योजना कार्यान्वयन गर्न नसकेर पार्टीले गल्ती गरेको स्वीकार गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्तीबाट पाठ सिकेर अघि बढ्ने पनि बताए ।

