
त्यस्तै बैठकले एक्लै चुनाव लड्ने पार्टीको निर्णय जनताबाट अनुमोदन भएको निष्कर्ष निकालेको छ । सापकोटाका अनुसार प्रारम्भिक समीक्षाका क्रममा उपनिर्वाचनको नतिजाले धेरै उत्साहवद्र्धक र महत्त्वपूर्ण अवसरहरू प्रदान गरेको छ ।
माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ । पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले भने, ‘ एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ । यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ ।’ उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको भन्दै २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए । उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने माओवादीले जनाएको छ ।