काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोप अभियानका लागि तेस्रो लटको खोप आइपुगेको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ गाभीको सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप आएको हो ।स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आइतबार थप ४ लाख ९० हजार भाइल खोप आइपुगेको जानकारी दिए । यसअघि पहिलो र दोस्रो लट गरेर १० लाख ७ हजार भाइल खोप आइपुगिसकेको छ ।
गत वर्ष नै सरकारले एचपीभीविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । जसमा सातै प्रदेशका अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार बालिकालाई खोप दिइएको थियो । अब आउने खोप अभियान भने विद्यालय केन्द्रित हुनेछ ।एचपीभी खोप अभियान १५ दिन (२३ माघ देखि ६ फागुन) सम्म चल्नेछ । १८ हजार ९०० विद्यालयलाई खोपका लागि केन्द्र तोकिएको छ । विद्यालयबाहेकका स्वास्थ्य संस्थामा ८ हजार केन्द्र तोकिएको छ ।
डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिने बताए । ‘माघदेखि विद्यालय तहमा गएर बालिका दिने योजना बनाएका छौं,’ गौतमले अनलाइनखबरसँग भने, ‘विद्यालय बाहिर भएका बालबालिकालाई पनि स्वास्थ्य संस्थाबाट खोप दिन्छौं ।’उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए । तर यो अभियान यस वर्ष मात्र होइन, नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिकालाई मात्रै दिने सरकारको योजना छ ।
‘अर्को वर्षदेखि एचपीभी खोप नियमित खोप कार्यक्रममा समावेश गरिनेछ । यस वर्ष गाभी सहयोगमा प्राप्त भएको हो । तर नियमित खोप सञ्चालन गरेरपछि सरकारले नै खरिद गर्नुपर्ने हुन्छ,’ उनले भने ।यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ । यद्यपि, यो अभियान मुख्यतया गाभीको सहयोगमा सञ्चालन हुँदैछ ।
ADVERTISEMENT

