गोरखा । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचार प्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।
सेनाले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा एकीकरण पदयात्राको थालनी गरेको हो । गोरखाबाट निस्किएको टोलीले आज धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ भने धादिङको टोलीले नुवाकोटस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ । त्यस्तै नुवाकोटको सेनाको टोलीले गोरखाबाट लगिएको झण्डा र लाइट काठमाडौँको सेनाको टोलीलाई हस्तान्तरण गर्ने उनले बताए । वर्तमान नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले गएको छ वर्षदेखि एकीकरण पदमार्गको रुपमा विकास गर्दै प्रचारप्रसारका लागि पदयात्रा गर्दै आएको छ ।

