काठमाडौं ६ असार। सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले इकान्तिपुरलाई जानकारी दिए ।प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले एसपीपी अस्वीकार गरेको उल्लेख गर्दै पत्र लेख्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिएका थिए ।
तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ । एसपीपी प्रकरणले नेपालका राजनीतिक नेतृत्वको विश्वसनीयता घटाएको र सेनाको साखमा पनि क्षति पुर्याएको टिप्पणी भइरहेको छ ।सुरुमा एमालेकै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएकै बेला ०७२ मा ‘सरकारकै अनुमतिमा’ सेनापतिले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो ।
त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला ०७४ वैशाख र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला ०७४ माघमा त्यस्तै पत्र सेनाले लेखेको बताइएको छ । एसपीपीसम्बन्धी १० बुँदे प्रस्ताव सार्वजनिक भएपछि सम्झौता नगर्न भन्दै सरकारलाई चौतर्फी दबाब आएको थियो ।
ADVERTISEMENT