काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखा परेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने पनि बताए ।
‘यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ’उनले भने,त्यससँगै सरकार पक्षीय दलहरूसँगको छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ ।र, पहिचान गरिएका विषयहरूमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने पनि प्रधानमन्त्रीले बताए ।
हामी स्पष्ट छौँ, पार्टीहरूका आ–आफ्नै धारणा र पोजिसन हुन सक्छन् । मिलेका कुरामा साझा धारणा बनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिनेछ । संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस÷छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउँछ । र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ’, प्रधानमन्त्रीको भनाइ छ ।

