काठमाडौँ । प्रतिनिधि सभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेको छ ।बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा उक्त सहमति गरेको हो ।
हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा संघीय निजामती विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ । कार्य विवरण र कार्यसम्पादन सम्झौता तथा सुपरिवेक्षणका विषयमा विधेयकमा आएको प्रस्ताव र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जनसहित निर्णयमा पुग्ने निर्णय गरिएको समिति सभापति रामहरि खतिवडाले बताए । संघीय निजामती विधेयकलाई संसद्को यही अधिवेशनभित्र पास गर्नेगरी समितिले दफावार छलफल चलाएको छ ।