नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अधिकारको चरम दुरुपयोग गरेको खुलासा भएको छ । प्रजिअ रिजालले अधिकारको चरम दुरुपयोग गरी सौदाबाजी गर्दै विभिन्न विद्यालयका परीक्ष केन्द्र हेरफेर गर्ने बहानामा अनुचित चलखेल गरेको आरोप लागेको हो ।
कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा सार्वजनिक गरेका हुन् । राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको राम्रो उदाहरण पनि दिन सफल हुनु भएकोमा बधाई छ,उनले लेखेका छन् ‘अझै लामो समय निजामति सेवामा रहने र माथिल्लो भूमिकामा पुग्ने निश्चित छ त्यसको लागि शुभकामना पनि छ, तर केही गलत प्रवृत्तिका पात्रसँगको साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परीक्षा प्रणालीमा धक्का दिन जुन कोशिस गर्नु भयो ईतिहासले धिक्कार्ने नै छ ।
प्रजिअ रिजालको चलखेलले आफुहरुलाई निरुत्साहित गर्ने निश्चित रहेको मेयर आचार्यले बताएका छन् । उनले अगाडी थपेका छन्, तपाई खै कस्तो प्रलोभनमा पर्नु भयो बिस्तारै खुल्दै जाला तर सिंगो अभिभावकलाई भ्रममा राख्ने र विद्यार्थीको भविष्य चौपट हुने गरि गरिने यस्ता धु्रत निर्णयको हामी सामना गर्ने नै छौं ।’ प्रजिअ रिजाल बाँकेमा कार्यरत रहँदा कक्षा १० को एसइई परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदाबाजी गरेको आचार्यको आरोप छ ।
‘हामी शिक्षामा लगानी,शैक्षिक प्रणालीको सुधार,मर्यादित परिक्षा सञ्चालन र गुणस्तरीय शिक्षा प्रति संवेदनशील, जिम्मेवार र जवाफदेही छौं, त्यसैले यो वा त्यो रुपमा हाम्रो हुर्मत लिन कसैले प्रयत्न नगर्न सुझाव छ,मेयर आचार्यले लेखेका छन् । प्रजिअ रिजालको बाँकेबाट सरुवा भईसकेको बताइएको छ ।
ADVERTISEMENT

