बाँकेमा ठूलो चक्ला वन क्षेत्र नेपालगञ्ज र खजुरामा दुई प्रतिशत भन्दा कम वन क्षेत्र छ भने जानकीमा शून्य
zeenepal
२०८१ फाल्गुन २१,
15
Shares
नेपालगञ्ज । बाँकेमा नेपालकै सबैभन्दा ठूलो चक्ला वन क्षेत्र छ । राप्तीसोनारी गाउँपालिकास्थित शमशेरगञ्ज-माथेवास सरकारद्वारा व्यवस्थित वन चक्ला व्यवस्थापन योजना हो । जुन आर्थिक बर्ष २०७३र७४ देखि सुरु भएको हो । यो योजना २०८२र८३ सम्म सञ्चालन हुनेछ । २५७८ हेक्टर क्षेत्रफलमा फैलिएको चक्ला वनमा उत्पादनशील क्षेत्र २२७८ हेक्टर रहेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजन वन अधिकृत शङ्कर प्रसाद गुप्ताले बताउनुभयो । यो वन क्षेत्रबाट वार्षिक १० करोड राजश्व सङ्कलन हुने गुप्ताले जानकारी दिनुभयो ।
चक्ला वन कार्ययोजना कार्यान्वयनका लागि वार्षिक ३ करोड बजेट आवश्यक भए पनि सरकारले ६० लाख मात्र विनियोजन गर्दा थिनिंग, पुनरुत्पादन तयारी कटान, सुधार कटान, फायर लाइन निर्माण, वाच टावर निर्माण लगायतका अति आवश्यक क्रियाकलापहरू सञ्चालन हुन नसकेको शमशेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीका वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले बताउनुभयो । चक्ला वनको मुख्य प्रजाति साल हो । जिल्लामा अर्को चक्ला वन क्षेत्र योजना कार्यान्वयनका लागि तयारी पनि थालिएको छ । सिनियर डिभिजनल वन अधिकृत गुप्ताका अनुसार राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर १ र ४ मा २२८९ हेक्टर क्षेत्रफलमा अर्को चक्ला वन कार्यक्रम कार्यान्वयनको तयारी भइरहेको छ ।
वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन अन्तर्गतको वन क्षेत्र बाँकेमा ८४०३.१३ हेक्टर छ । जसमा सरकारद्वारा व्यवस्थित एउटा चक्ला वन २५७८ हेक्टर र २४ वटा सामुदायिक वन ५८२५.१३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्रको वन क्षेत्र ५७, ७३९.०६ हेक्टर छ । जुन कुल वन क्षेत्रको ४८.१४ प्रतिशत हो । डिभिजन वन कार्यालय अन्तर्गत जिल्लामा ६ वटा सव डिभिजन कार्यालय छन् । कार्यालय प्रमुख गुप्ताका अनुसार बाँके निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्र बाहेक जिल्लाको सम्पूर्ण भू भाग डिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र पर्दछ । बाँकेमा नेपालगञ्ज र खजुरामा दुई प्रतिशत भन्दा कम वन क्षेत्र छ भने जानकीमा शून्य छ । अहिले जिल्लामा ढकेरी वन नर्सरीमा श्रीखण्डको बिरुवा उत्पादन पनि थालिएको गुप्ताले जानकारी दिनुभयो ।
कार्यालयले नियमित वन गस्ती तथा वन्यजन्तुको उद्धार सम्बन्धि कार्यहरू, सामुदायिक वन समूहहरूमा सुशासन, लेखा अभिलेख कोचिङ, दिगो वन व्यवस्थापन तालिम तथा समस्याग्रस्त वन्यजन्तु पहिचान तथा क्षमता विकास सम्बन्धि तालिमहरूको सञ्चालन, रक्षा सामुदायिक वनमा आधुनिक पार्क निर्माण, दुर्गा मन्दिर खजुरामा पार्क निर्माण तथा सुधारिएको घाट गद्दी निर्माण कार्यको इबिडिंग खोल्ने कार्य अन्तिम चरणमा पुगेको, वन डढेलो नियन्त्रणका लागि चक्ला वनमा ७ जना अग्नी नियन्त्रकको नियुक्ति, कम्दी करिडोरमा क्यामेरा जडान, नयाँ वृक्षारोपणको लागि स्थान छनौट, वन्यजन्तु पीडितलाई राहत वितरण लगायतका काम गरेको कार्यालय प्रमुख गुप्ताले जानकारी दिनुभयो ।