सूचना प्रविधिका पूर्वाधार अभावका कारण सो व्यवसाय फस्टाउन नसकेको :सञ्चारमन्त्री
zeenepal
२०८२ बैशाख १९,
3
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिका लागि भौतिक पूर्वाधार अभावका कारण सो व्यवसाय फस्टाउन नसकेको बताएका छन् ।मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०८२ नेशनल आइसिटी डे कार्यक्रममा उनले सूचना प्रविधि मुलुकको सुशासन प्रवर्द्धन, समृद्धि र विकासको मूल आधार भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताए ।
सूचना प्रविधिलाई चुस्त बनाउन मन्त्रालयले समय सापेक्ष कानुन, पूर्वाधार निर्माण र दक्षजनशक्ति वृद्धिमा जोड दिएको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार जसरी खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान आवश्यक पर्छ त्यसैगरी आइटी विकास गर्न भौतिक पूर्वाधार अनिवार्य निर्माण गर्नुपर्छ । उनले भने, ‘कम्तीमा आइटी पार्क नभइ नहुने देखिन्छ । हामी बनाउने योजनामा छौँमन्त्री गुरुङले विगतका कानुन हटाएर नयाँ नीति तथा कानुन तर्जुमा गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई स्थानीय तह, प्रदेश र सङ्घीय सरकारी कार्यालयमा पूर्णरुपमा लागू गर्ने, दूरसञ्चारलाई समयानुकूल बनाउन ऐन ल्याउने, फोरजी सेवा देशभर पुर्याउने र फाइभजी नेटर्वकलाई सुरुवात गर्ने, डाटा सेन्टर व्यवस्थित गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीति ल्याउने, जिआइडिसीको सबलीकरण र आधुनिकीरण गरी थप डेटा सेन्टर स्थापना गर्नेलगायत गतिविधिमा मन्त्रालयले काम गर्दै आएको जानकारी दिए ।
सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय आइसिटी क्षेत्रको प्रयोग बढ्दै जानु सकारात्मक भए पनि डिजिटल साक्षरता वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले आइटी क्षेत्रबाट राज्यको अर्थतन्त्रमा टेवा पुग्ने वातावरण सिर्जना गर्न सुझाव दिए ।श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनले डिजिटल फ्रेमवर्क बनाउने नेपाल सरकारको उद्देश्यलाई सफल पार्न मन्त्रालयले डिजिटल सेवा प्रभावमा जोड दिएको बताए ।ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले सूचना प्रविधिको सदुपयोग गरेर महानगरपालिकालाई सभ्य, सुशासन र व्यवस्थित गर्न सकिएको उदाहरण दिए ।