
प्रतिशोधको विषय आयो । यहाँ आफ्नो पार्टीकाले आफ्नैलाई सिध्याउने, अर्को पार्टीकाले पनि सिध्याउने । यो प्रतिशोधमा नफस्ने हो भने सक्रिय काम केही गर्न नहुने रहेछ । चुप लागेर बसिदियो, सबैका कुरा हो भनिदियो र ऊ गतिलो नेता बन्न नि नखोज्ने, गतिला काम पनि गर्न नखोज्ने । अहिले यो देशमा कर्मचारी वा नेता जसले पनि गतिला काम गर्न खोज्यो उसलाई मुद्दा लगाइहाल्छ,' बस्नेतले भने, 'यो किसिमको परिस्थिति हामीले जन्माएका छौं, निम्त्याएका छौं । सत्तापक्षलाई पर्यो प्रतिपक्ष हाँस्ने, प्रतिपक्षलाई पर्यो सत्तापक्ष हाँस्ने, ताली बजाइदलिने, पालैपालो सबैलाई भ्याइदिने ।'
आफू पनि सरकारमा मन्त्री भएकाले त्यस्तो व्यवहार हुने आशंका बस्नेतले गरेका छन् । उनी सूचना तथा संचार प्रविधि मन्त्री भएका बेला टेरामक्स प्रणालीमा भ्रष्टाचारको प्रकरण सार्वजनिक भएको थियो । उक्त प्रकरणमा बस्नेतले अख्तियारमा बयान दिइसकेका छन् । सोही प्रकरणलाई संकेत गर्दै बस्नेतले भने, 'म पनि अछुतो रहन्नँ, कहिले आउँछ पालो भन्ने कुरा मात्रै हो । तपाईंहरू कोही अछुतो रहनुहुन्न । एकदम सक्रिय राजनीतिक जीवन र महत्वाकांक्षी, मुलुकलाई केही गर्न चाहन खोज्ने राजनीतिक जीवन बिताउन खोज्नुभयो भने कोही बच्नेवाला छैन ।'
प्रतिशोधको राजनीति गर्न नहुने सांसद बस्नेतको भनाइ थियो । एकले अर्कालाई सिध्याउने राजनीतिक प्रतिशोध त्याग्नुपर्ने उनको आग्रह थियो । 'हामी सबैले यो परिस्थिति आउन नदिने हो भने पार्टीभित्र र बाहिर एकअर्कालाई सहयात्री, सहकर्मीको रूपमा भातृत्वको भावनालाई विकास गर्दै जानसक्यो भने होला, होइन भने यो प्रतिशोधको राजनीति नेपालको राजनीतिक पाकिस्तानी मोडलमा गइसक्या छ,' उनले भने, 'जो सत्तामा गएको छ ऊ निस्किने बितिक्कै जेल जान ठिक्क परेर बसे हुन्छ । झन् धेरै काम गर्ने प्रधानमन्त्री र मन्त्रीले गुन्टा कसेर बसे हुन्छ । त्यो खालको अवस्था हो ।टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) आँट गरेर उक्त प्रणाली अगाडि बढाएको सांसद बस्नेतको भनाइ थियो । तर, त्यसलाई कार्यान्वयन हुन नदिइएको उनको भनाइ थियो ।