नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बढाउँछौँ : उद्योग मन्त्री
zeenepal
२०८२ बैशाख २५,
6
Shares
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गरेका छन् । बिहिबारदेखी काठमाडौँको भुकृटीमण्डपमा सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण उद्घाटन समारोहको सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रका उपयुक्त मागहरु समाधान गर्नेगरी नीतिगत सुधारको काम गरिरहेको बताए ।
नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले सरकार औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेकोमा जोड दिए ।
मन्त्री भण्डारीले आगामी साउन १५ गतेभित्र संस्थानका रुपमा रहेका नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बताए । उनले उच्चस्रीय आर्थिक सुधार आयोगले दिएका सुझावका आधारमा संस्थानका रुपमा रहेका नेपालका रुग्ण उद्योगहरूको डिडिए पुरा गरेर नयाँ मोडालिटीका साथ अघि बढाउने बताए । विशेष आर्थिक क्षेत्रमा निर्यातका लागि पूर्वाधार बनाउने काम सार्वजनिक निजी साझेदारीबाट अघि बढाइरहेको उनको भनाई छ ।
स्वदेशी वस्तुको उपभोग कार्यविधिलाई अघि बढाइएको भन्दै मन्त्री भण्डारीले यसले स्वदेशी बजारीकरणको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।मुलुकमा पुँजीको अभाव नभएपनि लगानी हुन नसक्नु प्रमुख प्रश्नको विषय भएको उल्लेख गरे । उनले आगामी बजेटले आइटी क्षेत्र, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई जोड दिने बताए ।
मन्त्री भण्डारीले हालै संसदमा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको र देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए । व्यापार मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिष्पर्धात्क क्षमता बढाउन आग्रह गरे ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलेनेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुरयाउने बताए । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उनको धारणा थियो ।
‘मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने । नेपालमा अन्तरराष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नु पर्नेमा जोड दिए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनु पर्ने बताए । नेपाल, चीन र बंगदादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।