नेपालगञ्ज । बाँकेको कोहलपुरमा सञ्चालित तीन दिने ‘बीट पत्रकारिता तथा पत्रकार आचारसंहिता’ तालिम मंगलबार सकिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ बाँकेले तालिम आयोजना गरेको हो । तालिममा कोहलपुर क्षेत्रका ५० बढी पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, पूर्व जिल्ला अध्यक्ष नीरज गौतम र रुद्र सुवेदी, अग्रज पत्रकारहरु कृष्ण अधिकारी, डक्ट धिताल, प्रियास्मृति ढकाल, रुपा गहतराज र कमल खत्रीले सहजीकरण गरेको नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले बताए । तालिममा विकास पत्रकारिता, स्वास्थ्य पत्रकारिता, पत्रकारितामा महिला मुद्दा, खोज पत्रकारिता, खेलकुद पत्रकारिता, शिक्षा पत्रकारिता, प्रेस नीति शास्त्र र पत्रकार आचारसंहिता विषयमा सहभागीहरुलाई अभिमुखीकरण गरिएको थियो ।
तालिम समापन समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका उपमेयर संगीता सुवेदीले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै नेपालमा अब विधागत पत्रकारिताको खाँचो र आवश्यकता बढ्दै गएको भन्दै एउटै विषयमा पोख्त हुनु उपयुक्त हुने सुझाव दिइन् । उनले कोहलपुर नगरपालिका पत्रकार र मिडियाको विकासका लागि संवेदनशिल रहेको बताइन् । सञ्चार नीति बनाउँदै गरेको उल्लेख गर्दै उनले त्यसलाई छिट्टै पूर्णता दिई कार्यान्वयनमा ल्याइने जानकारी दिइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा उपमेयर सुवेदी र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीलाई मायााको चिनो र सहजकर्ताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गिरीले तालिममा सिकेको कुरालाई ब्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । उनले समालोचात्मक ढंगले मिडिया कर्म हुनुपर्ने समेत बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले तालिमले आचारसंहिता पालनामा पत्रकारहरुलाई गम्भीर बनाउनुका साथै बीट पत्रकारिताको अभ्यासमा सहजता ल्याउने विश्वास ब्यक्त गरे । उनले बाँके शाखाले सिर्जनशील कामहरु गरिरहेको भन्दै सराहना गरे ।
बाँके शाखा अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकास गर्दै विधागत क्षेत्रमा सीप प्रबद्र्धन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । मोफसलमा एक जना पत्रकारले सबै विषयमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै गिरीले पत्रकारहरुको क्षमता विकासका लागि तालिम उपयोगी हुने विश्वास ब्यक्त गरे । उनले पत्रकारहरुले आचारसंहिता पालनामा गम्भीरता देखाई मर्यादित, विश्वसनीय र जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए । समापन कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुनिल रेग्मीले गरेका थिए । तालिमको गत आइतबार कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका थिए । त्यसक्रममा उनले कोहलपुर नगरपालिका नेपाल पत्रकार महासंघसंग संस्थागत सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका थिए । उनले कोहलपुर नगरपालिकाभित्र रहेका सञ्चारकर्मी र मिडियाको विकास र प्रबद्र्धनमा आफूहरु संगै रहने समेत बताएका थिए ।
ADVERTISEMENT

