काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले प्रदेशलाई पूर्ण अधिकार दिएर स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिए नागरिकमा देखिएको असन्तुष्टि मत्थर हुँदै जाने बताएका छन् ।स्रोत र शक्ति केन्द्रमा राखेर प्रदेशबाट धेरै आस गर्नु नै गलत भएको भन्दै उनले मुलुकको बजेट शक्तिशाली प्रधानमन्त्री, मन्त्री र सांसदहरूको निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएर विनियोजन हुँदा सामाजिक न्याय सुनिश्चित हुन नसक्ने दाबी गरे।
संघ सरकारले गत १५ गते प्रस्तुत गरेको बजेट तथा भविष्यमा प्रदेश र स्थानीय तहले प्रस्तुत गर्ने बजेटका सम्बन्धमा केन्द्रित भएर सोमबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष यादवले बजेटले विपन्न वर्गलाई छुन नसकेको बताए । उनले भनेजो पावरमा आउँछ उसैले बजेट लैजाने प्रवृत्ति झाँगिएको छ । यसलाई राज्यको सम्पत्तिमाथिको लुट भन्न सकिन्छ । राष्ट्रिय योजना आयोग नै समावेशी छैन । रेमिट्यान्सले धानेको मुलुकमा आयात/निर्यात व्यापारमा सन्तुलन ल्याउनु पर्छ ।
फेडरालिज्म एन्ड लोकलाइजेसन सेन्टरले आयोजना गरेको कार्यक्रममा उनले प्रदेश संरचनाको विषयमा राजनीतिक नेतृत्व नै प्रस्ट नभएको आरोप लगाए । उनले आवश्यक ऐनसमेत नबनाएर असहयोग गरेको भन्दै संघ सरकारको केन्द्रीकृत मानसिकता नहटेको बताए । प्रदेशको संरचना कस्तो हुने नै प्रस्ट नभएको भन्दै तीन तहको सरकारबीच ठुलो खाडल रहेको बताए ।
उनले प्रदेशमा मन्त्रालयको संख्या पनि घटाउन सकिने उनले बताए । उनले संघीयता आवरणमा मात्र देखिएको दाबी गरे । उनले एमए पास गरेको युवाले विदेशमा मजदुरी गर्नुपर्ने परिस्थिति बनेको भन्दै संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तह जोडिने गरी समन्वय गर्नुपर्ने सुझाव दिए । यादवले युवा संघीयता कार्यान्यनका क्रममा नेताको बोली एउटा व्यवहार अर्को भएको बताए ।
बजेट विनियोजन गर्दा जनसङ्ख्या र नागरिकको आर्थिक हैसियतलाई आधार बनाउनुपर्नेमा जोड दिँदै उनले मुलुकमा रोजगारी सिर्जना हुन नसक्दा युवाहरू पलायन भएको बताए ।आफू त्रिभुवन विश्वविद्यालय जाँदा विद्यार्थी पढ्ने कोठामा माकुराले जालो लगाएको प्रसंग कोट्याउँदै उनले राजनीतिक शास्त्र पढ्न पनि विद्यार्थी नेपाल नबस्ने अवस्था आएको बताए । अब त मुलुकमा पढ्ने विद्यार्थी पनि नहुने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

