तरुण दलको अध्यक्षबाट विद्धानलाई हटाउन माग गर्दै अनुशासन समितिलाई पत्र
zeenepal
२०८२ जेष्ठ ३०,
15
Shares
काठमाडौं ।नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई पदमुक्त गर्न माग गर्दै पार्टीमा ज्ञापनपत्र बुझाइएको छ ।तरुण दलकै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत अनुशासन समितिलाई पत्र बुझाएका हुन् ।तरुण दलका अध्यक्ष गुरुङले सस्तो लोकप्रियताका लागि कार्यालय भवन बनाउनका लागि बजेट विनियोजन विषयलाई प्रचार गरेको असन्तुष्ट पक्षले जनाएको छ । गुरुङको कार्यले सिंगो पार्टी, सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री प्रकाशमान सिंह आलोचित हुने अवस्था बनेको पत्रमा उल्लेख गरिएको छ ।तरुण दलको भवनका लागि सहरी विकास मन्त्रालयले ३ करोड रकम बजेट विनियोजन गरेको जानकारी गराउँदै गुरुङले गत शनिबार सभापति देउवा र उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिएका थिए ।
एउटा व्यक्तिले आफ्नो ब्यक्तिगत लोकप्रियताको लोभमा प्रचारमुखी बन्दा आज प्रत्येक सञ्चार माध्यमको समाचारको हेडलाईन बनिरहेको छ । सामजिक सञ्जाल भरि हाम्रो नेता र मन्त्रीलाई आलोचना र गालीको वर्षा भैरहेको छ,’ अनुशासन समितिलाई लेखिएको पत्रमा भनिएको छ ।तीनबर्ष सम्म महाधिवेशन गर्न नसकेर गुरुङ असक्षम सावित भएको असन्तुष्ट पक्षले जनाएको छ । अध्यक्षको अपरिपक्वताको सिंगो संगठन र पार्टी प्रति युवा संगै आम नागरिकहरूको वितृष्णा बढ्दै ग्एको पत्रमा लेखिएको छ ।संगठनको विधि र पद्धति मिच्दै अनुशासनहीन कार्य गरेको, सामान्य नेतृत्वको क्षमता नरहेको, संगठन दिनानुदिन कमजोर बनाएको लगायतका कारण देखाउँदै पदमुक्त गर्न माग गरिएको छ ।गुरुङलाई हटाउन माग गरेर पत्र लेख्नेहरुमा तरुण दलका केन्द्रीय सदस्यहरु रोजन राई, मनिष सिंजापति, मनोजकुमार कटुवाल, चन्द्रसुन्दर खेवाङ, सतेन्द्रसिंह ठकुरी, सिंहविक्रम पाण्डे र रोहित लामा छन् ।