काठमाडौं । गृह मन्त्रालयले हालै लोकसेवाको परीक्षा उत्तीर्ण गरेर तालिम लिएका ४५ जनालाई विमानस्थल अध्यागमनमा खटाउने भएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयले उपलब्ध गराएको विवरण अनुसार, अध्यागमन सुधारका क्रममा हालै सेवा थालेका ४५ जना शाखा अधिकृतहरुलाई सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको हो ।अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए। रिजालको पनि कार्यालयबाट सरुवा भइसकेको छ । तर, नयाँ सहसचिव हाजिर भइसकेका छैनन् ।
‘लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ’, उनले भने । घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन् ।केहीअघि गृह मन्त्रालयले विमानस्थलमा खटिएका ४५ शाखा अधिकृतलाई मन्त्रालय तानेको थियो । त्यसको बदलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको विवरण अनुसार ४५ अधिकृतलाई खटाइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।
गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले विमानस्थलमा दरबन्दीभन्दा बढी अधिकृत भए उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाइने समेत बताए । उनले दरबन्दी अनुसार मात्रै अधिकृतहरु राखिने बताए ।
विमानस्थल अध्यागमनमा खटिएका कर्मचारीकै मिलेमतोमा भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्दै ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो । त्यसबेला तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । अझै त्यो मामिलामा आयोगले छानबिन गरिरहेको छ ।सरकारले समेत छानबिनका लागि पूर्वसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति बनाएको छ ।
ADVERTISEMENT

