काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, काठमाडौंको पशुपति लगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् ।यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, धतुरो, विभिन्न फूल, फल लगायतका प्रसाद चढाएर पूजा गर्दछन् ।
यसरी शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास छ ।साउनको पहिलो सोमबारको दिन आज काठमाडौंको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा श्रद्धालुको घुइँचो लागेको छ । उनीहरु लामबद्ध भएर पूजाआजा गरिरहेका छन् ।
पशुपति दर्शन गर्न जानेहरुलाई नि:शुल्क बस सेवा
श्रद्धालुहरुलाई सहज रुपमा पूजाआजाको प्रबन्ध मिलाउने उद्देश्यले पशुपतिनाथका चारै ढोका आज बिहान तीन बजेदेखि नै खुला गरिएको थियो ।पशुपति क्षेत्र विकास कोषले आज दिनभर पाँच लाख भक्तजन मूल मन्दिर प्रवेश गरेर दर्शन गर्ने पूवानुमान गरेको छ ।
कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन गर्न आउनेका लागि चक्रपथमा नि:शुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ ।पशुपतिमा आउने भक्तजनका लागि मारवाडी समाजले नि:शुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबार बाहेकका दिन पनि निरन्तर हुने समाजले जनाएको छ । 
