काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत तथा स्वीस दूतावासका विकास सहायता प्रमुख मथियास माइयरबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि कायम रहेको नेपाल–स्वीट्जरल्याण्डबिचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै, नेपालको आर्थिक–सामाजिक विकासमा स्वीस विकास सहयोगले पुर्याएको योगदानको प्रशंसा गरिन्।
मन्त्री न्यौपानेले कोशी र बागमती प्रदेशका नगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि स्वीस सरकार र अर्थ मन्त्रालयको सहकार्यमा परियोजना दस्तावेज तयार भइरहेको उल्लेख गर्दै, चाँडै द्विपक्षीय सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन्।

