प्रधानमन्त्री कार्कीको पनि सम्पत्ति छानबिन हुनुपर्छ : वाईसीएल
zeenepal
२०८२ आश्विन ३१,
6
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मा आबद्ध युवा सङ्गठन योङ कम्युनिस्ट लिग वाईसीएल ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेको छ । कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहकी प्रधानमन्त्री कार्कीको पनि सम्पत्ति छानबिन हुनुपर्ने जिकिर गरेको हो । शुक्रबार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रूपमा पत्रकार सम्मेलन गरी वाईसीएलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्व राजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरूको पनि सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिए । उनले भ्रष्टाचार गरेका सबैको सम्पत्ति छानबिन नभए आफूहरूलाई मान्य नहुने चेतावनी समेत दिए ।
उनले भने- ‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने हो हाम्रो । यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढङ्गले सबैको छानबिन हुनुपर्यो । वैरभाव राखेर, पक्षपात गरेर गरिने छानबिनको हामीले विरोध गर्छौँ । तर त्यसरी निष्पक्ष ढङ्गले गरिने छानबिनको सुरुवात हाम्रो अध्यक्षबाटै होस् । हाम्रो अध्यक्षले पनि भन्नुभएको छ, हामीले पनि भन्छौ–माओवादीलाई झन् छुट छैन । शहीदको रगतमाथि होली खेलेर भ्रष्टाचार गर्ने छुट छैन । जो कोही पनि भ्रष्टाचार संलग्न हुनुहुन्छ भने कारबाही हाम्रै नेताबाट सुरु गर्नुस् । कसैलाई पनि छोड्न हामीले छुट दिने छैनौँ ।’उनले भने- ‘पूर्वराजा र राप्रपा पार्टीहरुको पनि किन घर जलेनन्, किन उनीहरूका पार्टी कार्यालय केही भएनन् ? यो पनि गम्भिर विषय छ । रास्वपाको पनि गम्भीर विषय छ । यी विषयहरू पनि निष्पक्ष ढङ्गले छानबिन हुनुपर्यो ।’