नेपालगञ्ज :नेपालगञ्जमा शनिबार चौथो खुला ब्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका १ सय बढी खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगिता नेपालगञ्ज उप–महानगरपालिका–०१ धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल मैदानमा हुनेछ । प्रतियोगिता आयोजनामा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ ले संयोजन गरेको छ । युवाहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ बनाउन खेलकुद महत्वपुर्ण हुने भएकोले प्रतियोगिता आयोजनामा सहकार्य गरेको नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजालले बताए । उनले भने–‘नेपालगन्जको लागि यो नयाँ खेल हो ।
हाम्रो वडाले खेलकुदलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको छ । हामी वडालाई खेलकुदको हब बनाउने प्रयास गरिरहेको छौं । खेलकुदमा मात्र हामीले पाँच करोड भन्दा बढी रकम खर्च गरिसकेको छौं । यसले हाम्रो वडा खेलकुदको क्षेत्रमा देशकै अग्रणी रहेको पुष्टि गर्छ ।खुला ब्यायाम प्रतियोगितामा वैज्ञानिक आधारमा तय गरिएका फिटनेसका मुल आधारहरु स्टे्रन्थ, इन्डुरेन्स र स्टामिना जस्ता विभिन्न शारीरिक चुनौतीहरु मार्फत सहभागीको फिटनेस अवस्था परीक्षण गर्ने गरेको प्रतियोगिता नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जका अध्यक्ष तिलक शाहीले बताए ।
शाहीका अनुसार प्रतियोगितालाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन मुख्य रुपमा बार इभेन्ट र सरर्किट गरी दुई प्रमुख विधामा विभाजन गरिएको छ । प्रतियोगिता संयोजक प्रकाश कठायतका अनुसार पुरुष सर्किट, महिला सर्किट,पुरुष बार र फन रन विधामा खेलाडीहरुले सहभागिता जनाउनेछन् ।आम मानिसहरुलाई पनि प्रतियोगितामा सहभागि गराउने उद्देश्यले ५ किलोमिटर फन रन विधा पहिलो पटक समावेश गरिएको आयोजकले जनाएको छ । ८ लाख ४० हजार बजेट रहेको प्रतियोगिताको पुरुष सर्किट, महिला सर्किट, पुरुष बार इभेन्ट्समा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश जनही २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार, मेडल प्राप्त गर्नेछन भने फन रनका विजेताले क्रमश १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा निर्णायकको रुपमा विश्वराज तामाङ घिसिङ, युवराज बस्नेत, सुरज डंगोल, डेभिट प्रधान क्षितिज सिंह क्षेत्रीले भुमिका निर्वाह गर्नेछन् । प्रतियोगिताको गत वर्ष भएको तेस्रो संस्करणमा पुरुष बारमा क्षितिज सिंह क्षेत्री, पुरुष सर्किटमा सुनिल खड्का र महिला सर्किटमा निकिता भट्टराई च्याम्पियन भएका थिए।
ADVERTISEMENT

