काठमाडौँ । सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा विगत केही दिनदेखि देखिएको अशान्त वातावरण, झडप र सर्वसाधारणबिच उत्पन्न तनावप्रति नेपाल उद्योग वाणिज्य महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती घटनामा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, झडपमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक र बहुधार्मिक एकताको देश रहेको स्मरण गराउँदै महासङ्घले सामाजिक अशान्ति र हिंसाले कसैको पनि हित नगर्ने बताएकाे छ ।
महासङ्घले जुनसुकै प्रकारका मतभेद वा असमझदारीलाई शान्तिपूर्ण वार्ता र आपसी संवादबाट मात्र समाधान गर्न सकिने विश्वास व्यक्त गरेको छ । सुनसरीको कप्तानगञ्ज लगायतका संवेदनशील क्षेत्रहरूमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन महासङ्घले स्थानीय प्रशासन र सरकारसँग जोडदार माग गरेको छ ।कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यद्वारा जारी विज्ञप्तिमा कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहको पछि नलागी संयमता अपनाउन र परम्परागत भाइचारालाई मजबुत बनाउन सर्वसाधारणमा अपिल गरिएको छ ।महासङ्घले तराईको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू, सञ्चारकर्मी र स्थानीय अगुवाहरूलाई सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आह्वान गरेको छ।
ADVERTISEMENT

