काठमाडौं २३ असार। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्य एवं नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरुले पूर्वाग्रह राखेर अनुसन्धान नगर्ने बताएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले शर्मालाई दोषी करार गर्ने पूर्वाग्रह अनुसार काम नगर्ने बताए ।संविधान भन्दा माथि कोही पनि होइन । यो कुराको सर्वोच्चता कायम गर्ने गरेरै हामी अनुसन्धान गर्छौं । कसैलाई दोषी करार गर्ने पूर्वाग्रहसाथ काम गर्दैनौं’ उनले भने ।
सांसद अधिकारीले निवर्तमान मन्त्री शर्मालाई दोषी देखाएर बदला लिने उद्देश्य नभएको पनि बताए । ‘छानबिन गर्नुपर्ने सबै कुराको छानबिन गर्छौं । कसैलाई दोषी करार गरेर हामीले बदला लिनु छैन’ उनले भने, ‘कोही दोषी फलानो होस् भन्ने कुरा होइन, सिस्टमलाई हामीले कसरी सम्हाल्ने र सिस्टमप्रतिको विश्वसनीयता कसरी जनसमथर्नमा कायम गरिरहने भन्ने नै हाम्रो मुख्य विषय हुन्छ ।’
संसदीय छानबिन समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद सचिवालयको भएको बताए । उनले सचिवालयले पहिलो बैठक बोलाएपछि संयोजक तोकेर र कार्यविधि बनाएर अगाडि बढाउने जानकारी दिए ।
ADVERTISEMENT