ललितपुर । नेपाली कांग्रेसले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रलाई राज्यले नियन्त्रण, शंका र त्रासको दृष्टिले हेर्न नहुने भन्दै तत्काल लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले निजी क्षेत्र, लगानी, कर्जा प्रवाह, औद्योगिक नीति तथा पूर्वाधारका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै चारबुँदे ठोस माग अघि सारेको हो। कांग्रेसले नेपालको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको करिब ८१.५५ प्रतिशत, पूँजी निर्माणमा ७६.९ प्रतिशत, राजस्वमा ८० प्रतिशतभन्दा बढी र रोजगारीमा करिब ८६ प्रतिशत योगदान रहेको उल्लेख गरेको छ।
कांग्रेसले विद्यमान कानुनमा निजी क्षेत्रका व्यवसायीलाई थुनामा राख्न सकिने कडा प्रावधान रहेको भन्दै प्रस्तावित नयाँ कम्पनी कानुनमा यस्ता प्रावधान थप गर्ने तयारीप्रति आपत्ति जनाएको छ। पार्टीले यसलाई ‘पहिले थुन्ने, पछि सुन्ने’ नियन्त्रणमुखी नीतिको संज्ञा दिँदै कर्पोरेट तथा व्यावसायिक कानुनको तत्काल ‘डिक्रिमिनलाइजेसन’ अर्थात् गैर-अपराधीकरण गर्न माग गरेको छ।कांग्रेसका अनुसार सुशासन अनावश्यक रूपमा जेलमा राखेर नभई स्पष्ट नियम, पारदर्शी प्रक्रिया, आर्थिक दण्ड तथा न्यायोचित कानुनी सुनुवाइमार्फत कायम गरिनुपर्छ। सीमा क्षेत्रमा अवैध आयात रोक्न र स्वदेशी उद्योग संरक्षण गर्न माग कांग्रेसले राजस्व चुहावट नियन्त्रणका नाममा सीमावर्ती क्षेत्रका सर्वसाधारण तथा साना व्यापारीलाई अनावश्यक दुःख दिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ। सीमा क्षेत्रमा हुने अवैध आयात तथा तस्करी नियन्त्रण गर्न सरकार असफल हुँदा वैधानिक रूपमा भन्सार तिरेर कच्चा पदार्थ आयात गर्ने स्वदेशी उद्योग अस्वस्थ प्रतिस्पर्धाको मारमा परेको पार्टीको निष्कर्ष छ। विशेषगरी जुत्ता, डेरी, कपडालगायत उत्पादनमूलक उद्योग उच्च लागत, अवैध आयात, ढुवानी समस्या र सरकारी बेवास्ताका कारण संकटमा परेको कांग्रेसले जनाएको छ। पार्टीले उत्पादनमूलक तथा श्रमप्रधान उद्योगका लागि विशेष छुट, सहज ढुवानी सुविधा र लागत घटाउने नीतिगत राहत प्याकेज तत्काल घोषणा गर्न माग गरेको छ।
कर्जा प्रवाह बढाउन लगानीमैत्री नीति आवश्यक कांग्रेसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको भन्दै सरकारको आर्थिक नीतिप्रति निजी क्षेत्रको विश्वास कमजोर भएको टिप्पणी गरेको छ। नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको अवस्थामा वास्तविक वृद्धि करिब ५ देखि ५.८ प्रतिशतमा सीमित रहेको उल्लेख गर्दै कांग्रेसले बजारमा माग सिर्जना गर्ने तथा लगानीकर्ताको आत्मविश्वास बढाउने गरी सरकार र राष्ट्र बैंकले लचिलो तथा लगानीमैत्री नीति ल्याउनुपर्ने बताएको छ। बैंकिङ प्रणालीमा निष्क्रिय रहेको तरलतालाई उत्पादनमूलक क्षेत्र, पूर्वाधार तथा साना तथा मझौला उद्योगमा प्रवाह गर्न विशेष प्रोत्साहन र सहज कर्जा पहुँचको व्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ।
FDI र पूर्वाधारमा नीतिगत स्थिरता आवश्यक कांग्रेसले प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिबद्धता घट्दै गएको, पूँजीगत खर्च कमजोर रहेको तथा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै गएको भन्दै सरकारको आर्थिक व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ। निर्माण क्षेत्रसमेत संकटमा रहेको भन्दै पार्टीले मूल्यवृद्धिको न्यायोचित समायोजन गर्न तथा ८०–९० प्रतिशतसम्म काम सम्पन्न भइसकेका पूर्वाधार आयोजनाका ठेक्का रद्द गर्ने निर्णय पुनरावलोकन गर्न माग गरेको छ। त्यस्तै, निर्माण व्यवसायीलाई बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन, बैंक तथा वित्तीय संस्था र लघुवित्त क्षेत्रको खराब कर्जा नियन्त्रणका लागि ठोस आर्थिक कार्ययोजना ल्याउन तथा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थिरताको ग्यारेन्टी गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
‘निजी क्षेत्र त्रसित बनाएर समृद्धि सम्भव छैन’ कांग्रेसले निजी क्षेत्रलाई निरुत्साहित र त्रसित बनाएर मुलुकको आर्थिक समृद्धि हासिल गर्न नसकिने स्पष्ट गरेको छ। पार्टीले सरकारलाई नियन्त्रण र शंकाको दृष्टिकोण त्याग्दै संरक्षण, प्रोत्साहन र सहजीकरणको नीति अवलम्बन गर्न आग्रह गरेको छ। लगानीकर्ताको खस्किएको मनोबल उकास्न, पूँजी पलायन रोक्न तथा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न स्पष्ट राष्ट्रिय आर्थिक दृष्टिकोणसहित दीर्घकालीन र स्थिर नीति आवश्यक रहेको कांग्रेसको निष्कर्ष छ। युवाका लागि गगन थापाले घोषणा गरे ‘BIU’ अभियान यसैबीच, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कांग्रेस सभापति गगनकुमार थापाले युवालाई सक्षम, उद्यमशील र आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘BIU’ (Build, Incubate and Uplift) अभियान घोषणा गरेका छन्। युवा दिवस युवालाई शुभकामना दिने अवसर मात्र नभई उनीहरूको सपना, सम्भावना र भविष्यबारे सोच्ने दिन भएको उल्लेख गर्दै थापाले युवाले भविष्य खोज्न देश छाड्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। BIU अभियानले युवाको सम्भावनालाई अवसरसँग जोड्ने, सीपलाई रोजगारी तथा उद्यमसँग जोड्ने र उद्यमलाई आत्मनिर्भरताको आधार बनाउने लक्ष्य राखेको छ। कांग्रेसका अनुसार प्रत्येक युवाभित्र सम्भावनाको ‘बीउ’ हुन्छ। कसैमा उद्यमशीलताको क्षमता, कसैमा प्रविधिको ज्ञान, कसैमा सिर्जनशीलता र कसैमा नेतृत्व गर्ने क्षमता हुन्छ। ती सम्भावनालाई पहिचान गरी अवसरसँग जोड्दै दिगो उद्यम निर्माणतर्फ अघि बढाउने अभियानको उद्देश्य हो। ललितपुरबाट ‘बीउ’, हिमाल–पहाड–तराईमा ‘विरुवा’ हुँदै देशभर ‘रूख’ BIU अभियानलाई प्रारम्भिक रूपमा ललितपुर जिल्लामा ‘बीउ’ अर्थात् incubation project का रूपमा सञ्चालन गरिने कांग्रेसले जनाएको छ। त्यसपछि हिमाल, पहाड र तराई–मधेसका एक–एक जिल्लामा पाइलट कार्यक्रम सञ्चालन गरी अभियान विस्तार गरिनेछ। कांग्रेसले यी प्रारम्भिक कार्यक्रमलाई ‘विरुवा’को संज्ञा दिएको छ। पाइलट चरणको अनुभव र सफलताका आधारमा अभियानलाई देशभर विस्तार गर्दै दिगो उद्यमशीलताको ‘रूख’ बनाउने लक्ष्य कांग्रेसले लिएको छ। कांग्रेसको यो अभियानले युवालाई केवल रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ।
ADVERTISEMENT

