एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल
zeenepal
२०७९ असार ३१,
6
Shares
काठमाडौं असार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका हुन् ।उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताएका थिए । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरूको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको उनले बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी अध्यक्ष नेपालको थियो ।
‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौं । व्याख्यात्मकसँग जोड्यौं । इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ । यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले । सरकारी गाडी अघि पछि घुमाउन थाले । नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुनथाल्यो,' उनले भने, 'एसपीपी केपी ओली प्रधानमन्त्री भएकै बेला ल्याइएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्ध भयो, थाहा छैन
प्रदेश र संघीय निर्वाचनको मिति कुनै पनि समयमा घोषणा हुनसक्ने नेपालको भनाइ थियो । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । ‘जुन मंसिर महिनाको २ गते निर्वाचन भन्ने कुरा बाहिर आएको छ तर हामीले भनिसकेका छैनौं । तर अनुमान के छ भने संसदको अधिवेशन सकिनेबित्तिकै ४ महिनाअघि चुनावको मिति घोषणा गर्नुपर्ने भएको हुनाले मंसिरभन्दा पर जाने सम्भावना नभएको हुनाले चुनावको मिति कुनैपनि बेलामा घोषणा हुनसक्छ,' उनले भने, 'त्यो तयारीमा अहिलेबाट नै जुट्नुस् । अब तुरुन्तै चुनावको मिति घोषणा हुनसक्ने भएकोले प्रत्येक जिल्लाजिल्लामा नेताहरूको केन्द्रिकरण होस् ।’
नेपालले प्रमुख प्रतिपक्षी एमालेलाई प्रहार नगर्न पनि कार्यकर्ताहरूलाई भनेका छन् । उनले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहार नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको बताए । ‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ । त्यो सन्देश भनेको एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौँ भन्ने हो । यत्रो ठूलो पंक्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्शान एमालेलाई नै भएको छ,' उनले भने, 'पार्टीलाई उचाईमा पुर्याेउने क्षमता हामीमा छ । राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ । अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेका छैनन् । हामीले पनि प्रहार गर्नुहुँदैन । राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन ।’एकीकृत समाजवादीमा जनतामाझ राम्रो छवी भएका नेताहरू रहेको र त्यसको उदाहरण पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा देखिएको नेपालको भनाइ थियो ।