नेपालगञ्ज मंसिर, ।भेरी अस्पताल नेपालगञ्जमा मृगौलाका विरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरिरहेका छन् । यति लामो समयदेखि लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन ।
अस्पतालको हेमोडायलासिस युनिटका अनुसार भदौंदेखि ८५ जना विरामीले पालो कुरिरहेका छन् । उनीहरुले पालो पाएका छैनन् । पालो कुरिरहेका कतिपय सम्पर्क विहीन भइसकेका छन् । उनीहरुको मृत्यु भयो वा अन्यत्र गए अस्पताललाई जानकारी छैन ।
भेरीमा चारवटा डायलासिस मेशिन छन् । तीमध्ये एउटा आपातकालिन अवस्थामा र अरु तीनवटालाई नियमित विरामीलाई प्रयोग गर्ने गरिएको छ । भेरीमा अहिले ३६ जना विरामीले नियमित डायलासिस गराइरहेका छन् ।
अस्पतालमा थप ६ वटा मेशिन आइपुगेको छ । यी मेशिन आएको धेरै भइसकेपनि जडान गरिएको छैन । पानीको समस्याले गर्दा ती मेशिन जडान हुन नसकेको युनिटका प्रमुख डा.पारस श्रेष्ठले जानकारी दिए ।
भदौदेखि कोहलपुर मेडिकल कलेजभित्र ठेकेदार कम्पष्नीले चलाएको डायलासिस मेशिन बिग्रिन थालेपछि भेरी अस्पतालमा विरामीको चाप बढेको थियो । पहिछल्लो हप्तादेखि कोहलपुरमा डायलासिस ठप्प छ । युनिट प्रमुख डा.श्रेष्ठले कोहलपुरमा मेशिन बिग्रिएपछि धेरै विरामी भेरीमा आउँदा यहाँ चाप बढेको बताए ।
ADVERTISEMENT