काठमाडौँ । जनमत पार्टीले पार्टी छोडेर गएका नेताहरूलाई पुनः प्रवेशमा कडाइ गर्ने तयारी गरेको छ । काठमाडौँमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विशेष बैठकले पार्टी छोडेर गएका नेता तथा कार्यकर्ताहरूलाई पुनः प्रवेश गरेको खण्डमा ६ वर्षसम्म कुनै पनि लाभकाे पदमा वा निर्वाचनमा सहभागी हुन नदिने निष्कर्ष निकालेको हो ।निर्वाचनको क्रममा अन्तर्घात गरेका, खुला वा छद्म रूपमा अन्य पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदवार बनेका सदस्यहरूमाथि कडा कारबाहीको तयारी भइरहेको पार्टीले जनाइएको छ । उक्त विषयहरूमा पुनः बैठक बसी केही दिनमै निर्णय सार्वजनिक हुने जनमत पार्टीले जनाएको छ ।
माघ २८ देखि फागुन १ गतेसम्म चलेको बैठकमा सङ्गठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, सङ्घीय परिषद् र प्रादेशिक समितिहरूको गठन बारे पनि छलफल भएको छ । घर–घर जनमत अभियान, जनमत प्रवेश महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन, जिल्ला इन्चार्जहरूको नियुक्ति÷फेरबदल, जिल्ला अधिवेशनको तयारीबारे पनि बैठकमा छलफल भएको छ । भातृ सङ्गठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्पडेस्क व्यवस्थापन आदि विषयमा छलफल भएको छ । पार्टी प्रवेश गर्न चाहने राष्ट्रिय तथा जिल्ला स्तरका नेताहरूलाई पार्टी प्रवेश शीघ्रताका साथ गराउने र त्यसको लागि संयन्त्र निर्माण गरिने विषयमा समेत बैठकमा छलफल भएको बताइन्छ ।
ADVERTISEMENT