नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा जेष्ठ नागरिक मिलन केन्द्र भवन बन्ने भएको छ । भवनको मंगलवार शिलान्यास गरिएको छ । पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल र वडा नम्बर १२ को जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले जेष्ठ नागरिक मिलन केन्द्र भवनको शिलान्यास गरेका हुन् ।भवन वडा नम्बर १२ स्थित मरघटियामा बन्न लागेको हो । चालू आर्थिक बर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त २० लाख बजेटमा भवन निर्माण गर्न लागिएको बज्राचार्यले जानकारी दिए ।
निवर्तमान प्रदेश सांसद सुरेन्द्रबहादुर हमालले उपलब्ध गराएको उक्त बजेटमा भवन बन्न लागेको हो । वडा अध्यक्ष बज्राचार्यले वडाका ६० बर्ष माथिका जेष्ठ नागरिकका लागि भेटघाट गर्ने थलोका रुपमा भवन बनाउन लागिएको बताए । उनका अनुसार हाल वडा नम्बर १२ मा करिब ६०० जना जेष्ठ नागरिक छन् ।जेष्ठ नागरिकका लागि भेटघाट गर्न निश्चित स्थान रहोस्, जीवनको उत्तरार्धमा समूहमा बसेर रमाइलो गर्ने, योगा गर्ने, भजनकिर्तन, दुःखसुखका कुरा गर्न सक्ने वातावरण बनोस् भन्ने उद्देश्यले भवन बनाउँदैछु, उनले भने ।बज्राचार्यले उपभोक्ता समिति गठन गरेर काम अघि बढाइएको बताए । “जसको लागि भवन हो, उसले बनाउनुपर्दछ भन्ने मान्यताका साथ जेष्ठ नागरिक क्लबलाई नै उपभोक्ता समितिको जिम्मेवारी दिएका छौं, उनले भने ।
ADVERTISEMENT