दाङ चैत दाङको तुलसीपुर उपमहानगरपालिका—१५, मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुर खोलामा पुल निर्माण हुन लागेको करिब ७ वर्ष हुन लाग्यो । २०७५ चैत्र १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्स्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याट बाहेक १० करोड ५० लाख २१ हजार ४ सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । शुरुको दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो । तर निर्माण कम्पनीले बारम्बार विविध कारण देखाउँदै म्याद थप्दै आएको छ ।
अहिले पनि बजेट अभावका कारण पुल निर्माण हुने अवस्था छैन् खोलामा पुल बन्न लागेपछि त्यहाँका नागरिकहरू निकै खुशी थिए । तर, लामो समयसम्म पुल नबन्दा अहिले धेरै सास्ती भोग्नु परेको उनीहरूको गुनासो छ । अहिले पनि पुल निर्माण सम्पन्न हुनेमा उनीहरु शंका गरेका छन् ।यस्तै खोलामा समयमा पुल नबन्दा आम नागरिकहरूले मात्र नभइ सवारी चालकहरूले पनि सास्ती भोग्ने गरेको बताउँछन् । बर्खामा यात्रुहरू निकै समस्या हुने गरेको उनीहरूको भनाइ छ ।यता वडा कार्यालय पनि पुल नबन्दा नागरिकहरूले सास्ती पाएको भन्दै निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गर्दै आएका छ । यस्तै अहिले पुलको काम भइरहेको भएयता पनि निर्माण कम्पनी बजेट अभाव भएको भनेर जानकारी दिएका छन् ।
वडाले आफ्नो तर्फबाट हुने सहयोग गर्दै आएको पनि जनाएको छ ।सडक डिभिजन कार्यालय दाङले पनि पुल निर्माणको काम भइरहेको जनाएको छ । २०८० असार मसान्तसम्म म्याद भएको जनाएको छ ।यदि तोकिएको समयमा निर्माण सम्पन्न नभएमा अब म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही हुने कार्यालयको भनाइ छ । यस्तै अहिले बजेटको अभाव रहेको पनि कार्यालय बताउँछ ।नेपालमा करोडौँको लगानीका विकास निर्माणका काम भइरहेका छन् । तर, तिनीहरु समयमा निर्माण सम्पन्न नहुँदा नागरिकले धेरै सास्ती पाउने गरेका छन् । त्यसैले तोकिएको समयमा निर्माण गर्न नसक्ने कम्पनीलाई कारबाही गर्नु पर्छ । राज्यले पनि निर्माण कम्पनीलाई समयमै बजेटको सुनिश्चित गर्नु पर्छ । यो वा त्यो बहानामा पटक पटक म्याद थप्ने कार्यले नागरिक हैरान भइसकेका छन् ।
ADVERTISEMENT