बजेट अभावको कारण २२ हजार पूर्वशिक्षकले पाएनन् पेन्सन
zeenepal
२०८० बैशाख १०,
3
Shares
काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार पूर्वशिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ ।निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।
सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब बढ्दा पेन्सन पनि बढ्ने भएकाले बजेट अपुग भएको प्रमुख खरेल बताउँछन् । उनी भन्छन् ‘बजेट बनाउने बेला तलब/पेन्सन बढ्छ भन्ने अनुमान थिएन । बीचमा आएर बढ्यो, त्यसले गर्दा नपुगेको हो ।’
उपत्यकाका तीन जिल्लाका साथै झापा, मोरङ, जनकपुर, भैरहवा लगायत १२ वटा जिल्लाका शिक्षकलाई पेन्सनको पैसा पठाउन बाँकी रहेको उनले बताए ।उनका अनुसार कार्यालयले अर्थ मन्त्रालयमा पाँच अर्ब माग गरेको छ, तर आइसकेको छैन । ‘अर्थबाट बजेट दिने निर्णय भइसकेको छ । अब शिक्षा मन्त्रालय र त्यहाँबाट हामीलाई आउने हो’, उनले भने, ‘अब चाँडै समस्या समाधान हुन्छ ।’