नेपालगञ्ज : बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको उपचारका क्रममा मंगलवार मृत्यु भएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिए ।राप्ती सोनारी गाउँपालिका वडा ५, ढलैयास्थित राप्ती सब डिभिजन वन कार्यालय अन्तर्गत राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नं. ५ मा चितुवाले आक्रमण गरी घाइते भएको अवस्थामा सो नीलगाई पाइएको फरेष्टर खत्रीले बताए ।
उनका अनुसार मंगलवार दिउँसो उक्त नीलगाईको उद्धार गरी उपचार शुरु गरिएको थियो ।आक्रमणमा परी घाइते भएको सो नीलगाईको जङ्गलमै पुगेर समूहका पदाधिकारी, एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका प्रतिनिधि तथा वन कर्मचारीको टोलीले उपचार शुरु गरेको र तत्पश्चात् उक्त नीलगाईलाई उद्धार गरी राप्ती सब डिभिजन वन कार्यालयमा पुर्याई पशु भेटेरिनरी डाक्टरले थप उपचार गर्ने क्रममा नीलगाईको मृत्यु भएको उनले बताए ।मृत्यु भएको नीलगाईलाई सब डिभिजन वन कार्यालयको परिसरमा नियमानुसार प्रक्रिया पुर्याई खाडल खनी गाडिएको उनले जानकारी दिए ।