नेपालगञ्ज : साइक्लिष्टहरुको महाउत्सवका रूपमा आयोजना गरिँदै आएको कोरा देशभरका प्रमुख शहरहरुमा शनिवार आयोजना गरिँदैछ । त्यसक्रममा नेपालगञ्ज कोरा–२०२३ आयोजना गरिन लागेको नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।नेपालगञ्जमा सन् २०१९ बाट नियमित आयोजना गरिंदै आएको कोराको यो पाँचौं संस्करण हो । नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले तयसका लागि आवश्यक तयारी अगाडी बढाइएको बताए ।
साइकल अभियन्ताका अनुसार, कोरा तिब्बती शब्द हो यसको अर्थ परिक्रमा भन्ने बुझिन्छ । काठमाण्डौमा पहिलोपटक सन् २०११ बाट शुरु गरिएको हो ।नेपालगञ्ज साइक्लिङ क्लबका निवर्तमान अध्यक्षसमेत रहेका जिल्ला साइक्लिङ संघका अध्यक्ष गगनसिंह थापाले नेपालगञ्ज कोराको निरन्तरतामा साइकल अभियन्ताहरुको सहभागिता आवश्यक भएको औल्याए ।साइकल मार्फत आफ्नो रुटभित्र पारेर यहाँ रहेका मन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुद्वारा लगायत धार्मिक स्थलको परिक्रमा गर्दै कोरा साइक्लिङ च्यालेन्ज पूरा गरिने आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।
अध्यक्ष निरौलाका अनुसार, १० किलोमीटर ,२५ किलोमीटर, ५० किलोमीटर र १०० किलोमीटरसम्म आ–आफ्नो रोजाईको दुरिमा यात्रा गर्न सकिने गरि कार्यक्रमको आयोजना गरिएको छ । क्लबले शनिबार बिहान् ६ बजे न्युरोड बौद्ध गुम्बाबाट शुरु गरिने कार्यक्रममा सहभागी हुन बाँकेबासी साइकल प्रेमिहरुलाई साइकल सहित उपस्थितिका लागि आव्हान गरेको छ ।कोरा नेपाल बाहेकका विभिन्न देशमा समेत हुँदै आएको छ । नेपालगञ्जका स्थायी बासिन्दासमेत रहेका नेपालगन्ज साइक्लिङ क्लबका शुभेच्छुक पप्पु थापाले सिङ्गापुरबाट नै नेपालगञ्ज कोराको सहभागिता जनाउँदै सिङ्गापुरमै साइकल यात्रा गर्न लागेको क्लबले जनाएको छ ।नेपालगञ्ज साइक्लिङ क्लबले २०७४ देखि निरन्तर रूपमा विभिन्न साइकलका इभेन्ट तथा प्रतियोगिता आयोजना गर्दै आएको छ । जसमा टुर दि ठाकुरद्वारा, मेयर कप साइकल दौड प्रतियोगिता र कोरा प्रमुख रहेको क्लबका सचीव प्रदीप सापकोटाले बताए ।